भेरी अस्पतालमा चिकित्सकको अभाव, नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै

बाँके ।  भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ । 
अस्पतालमा रहेको ५६ चिकित्सकको दरबन्दीमा अहिले २९ जना कार्यरत छन् । अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको सङ्ख्यामासमेत सरकारले नै ध्यान दिनसकेको छैन । 

सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । 

अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अस्पतालका मेडिकल सुपेरिटेण्डन्ट रूपानन्द अधिकारी बताउछन्। उनका अनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करीब ३६ जना नियमित सेवामै छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् । 

उनले दरबन्दीअनुसारका चिकित्सक माग गरे पनि प्रदेश र केन्द्रीय दुवै सरकार र अस्पताल विकास समिति उदासिन रहेको बताए । “दरबन्दी छ, तर कतिपय सर्जन चिकित्सकका लागि अस्पतालमा ठाउँ, प्रविधि (वार्ड र ओपीडी)कै अभाव रहेको अधिकारी बताउछन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?