जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दो

भीमदत्तनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गरछन्  । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै आएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टार्दै आएका छन् । 

उनी अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटीखेती गर्दै आएकी किसानसमेत हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटीखेतीतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ । “एउटा सिजनको खेतीबाट रु ५० देखि ६० हजार आम्दानी हुन्छ”, उनले भने, “अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दैछ ।” 

जडीबुटीको तेल प्रतिलिटर रु तीन हजारदेखि ५५ हजारसम्ममा बिक्री हुने गरेको साउदको भनाइ छ । बेल्डाँडीका किसान पछिल्ला वर्षमा अन्नबाली छाडेर जडीबुटीखेतीमा आकर्षित हुन थालेका छन् । मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटीखेती गर्दै आएका छन् । 

प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर  ४० हजार, क्यामामाइलको तेल प्रतिलिटर  ५५ हजार, कडिपत्ताको प्रतिलिटर रु तीन हजारसम्म बिक्री हुने किसानको भनाइ छ । गहुँबाली भित्र्याएपछि खाली रहेको खेतमा जडीबुटीखेती गर्छन् । किसानले मेन्था प्रतिकठ्ठा चार किलो र म्यामाइल पाँच कठ्ठामा एक किलो उत्पादन गर्ने गरेको बताउँछन् । उत्पादन भएको तेल खरीद गर्न नेपालगञ्ज, सुर्खेतबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् । जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ । 

दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको तीन लाख लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । शुक्लफाँटा नगरपालिकाको बेल्डाँडीसँगै यहाँको माहाकाली, भीमदत्तनगरपालिका, बेदकोट, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा समेत जडीबुटीखेती गरिँदै आएको छ । उत्पादित क्षेत्रमा एक दर्जन प्रशोधन केन्द्र स्थापना गरिएका छन् । 

किसानसँगै यहाँका सामुदायिक वन समितिले पनि सामूहिक रूपमा पनि जडीबुटीखेती गरिरहेका छन् । जडीबुटीखेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ । यहाँको बेदकोट नगरपालिकाको बछेला सामुदायिक वन र हिमालय जडीबुटी समूहले करीब नौ बिघा जमीनमा क्यामामाइलको खेती गरिरहेको छ । हिमालय जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले २०६७ सालदेखि व्यावसायिक रूपमा जडीबुटीखेती गरिरहेको बताए । 

त्यस्तै बेदकोटकै बैतडा जडीबुटी उद्योगकी अध्यक्ष खेमा भट्टले जडीबुटी खेतीबाट राम्रो आम्दानी भएकाले युवालाई आकर्षित गर्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताए। 

जडीबुटी व्यवसायी सङ्घ शाखा कञ्चनपुरका व्यवसाय विकास सहजकर्ता राजेन्द्रप्रसाद जोशीले जिल्लाभर ५०० भन्दा बढी परिवार जडीबुटीखेतीबाट लाभान्वित भएको बताए। यहाँ उत्पादित तेल नेपालगञ्जबाट भारत बढी निर्यात हुने गरेको उनको भनाइ छ । 

जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष क्यामामाइल तेल उत्पादन ३७ केजी र मेन्था २७६ केजी उत्पादन गरेको थियो । सङ्घले जनाएअनुसार गत आर्थिक वर्षमा पश्चिमीनाका गड्डाचौकीबाट रु एक करोड ५५ लाख बराबरको तेल भारत निर्यात गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?