बागलुङ । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।
रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कनुभएका बस्नेत अब कहिल्यै घर फर्कने छैनन् ।
बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।
दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी ९पुलिस स्टेशन लोधी क्लोनी० को पत्रमा ९सन् २००९ जुलाई ९ तारिख० मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।
गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइनुभएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।
प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।
दिल्लीमै रहनुभएका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उनको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिएका थिए ।
“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उनले भने। मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उनको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।
केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भने, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।”
परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।
ह
प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा परेका थिए । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गरेका थियो । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भने, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फर्कुनुहुन्छ वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।
छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उनको जीवनमा ठूलो विपद् आइलागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया