कांग्रेस विधान तयार, १४१ जनाको केन्द्रीय समिति प्रस्ताव

 काठमाडाैं-नेपाली कांग्रेसको विधान बनाउन गठित मस्यौदा समितिले विधानमा आएका फरक मतसहितको प्रस्तावित मस्यौदाको प्रतिवेदन पार्टीलाई बुझाएको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजकसमेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले विधान मस्यौदाको प्रतिवेदन फरक मतसहित बुझाएका हुन् ।

कांग्रेस विधानमा पदाधिकारी संख्या, पदाधिकारीको चयन प्रक्रिया, संसदीय समितिको चयन प्रक्रिया, सदस्यता र विशेष अवस्थाको व्याख्याका विषयमा नेताबीच फरक मत रहँदै आएको छ । यस्तै, सभापतिले मनोनीत गर्ने सदस्य र मनोनीत पदाधिकारीका विषयमा समेत विधानमा फरक मत आएको छ ।

विधान मस्यौदामा समितिका तीन जना सदस्यले फरक मत राखेका छन् । मस्यौदा समितिले विधान मस्यौदा सर्वसम्मत रूपमा पारित गर्न नसकेपछि विकल्पसहित केन्द्रीय समितिमा आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘विधान मस्यौदा समितिले विधानमा सहमति जुटाएर ल्याउन सकेन, फरक मतसहितको विधान केन्द्रीय समितिमा आयो । अब अध्ययनपश्चात् विधान पारित गर्ने प्रक्रियातर्फ जान्छ,’ ती केन्द्रीय सदस्यले भने ।

विधानको मस्यौदामाथि फरक मत राख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटका समितिका सदस्य छन् ।
करिब तीन महिना लगाएर मस्यौदा समितिले तयार पारेको विधान मस्यौदालाई अन्तिम टुंगो लगाउन छलफलका लागि केन्द्रीय कार्यसमितिमा पेस गरिएको हो ।
मस्यौदा समितिका सदस्य नवीन्द्रराज जोशी, मिनेन्द्र रिजाल र प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा पेस गरिएको विधान मस्यौदामा विकल्पसहितको फरक मत राखेका हुन् ।

उनीहरूले विधानको प्रस्तावना नै लामो भएको भन्दै छोटो हुनुपर्ने माग गरेका छन् । यस्तै, पदाधिकारीका विषयमा समेत विधानमा फरक फरक प्रस्ताव आएको छ । पदाधिकारी बढाउने र हालकै राख्ने गरी प्रस्ताव आएको हो । यस्तै, केन्द्रीय समितिको संख्या बढाएर १४१ बनाउने प्रस्ताव छ । हाल कांग्रेस केन्द्रीय समिति विधानमा ८५ सदस्य रहने व्यवस्था छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?