पोखरामा अन्तर्राष्ट्रिय लियो सम्मेलन हुँदै

पोखरा । कास्किको पोखरामा यही मंसिर ‘निवेदिता कलर दि ड्रिम अन्तर्राष्ट्रिय लियो सम्मेलन २०१८’ हुने भएको छ । 

लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै अइरहेको लियो जिल्ला परिषद् ३२५ बी १ नेपालले पोखरामा यही मंसिर १४, १५ र १६ गते अन्तर्राष्ट्रिय लियो सम्मेलनको आयोजना गर्न लागेको हो । 

करीब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सम्मेलन कास्किको धम्पुसस्थित धौलागिरी भ्यू होटलमा हुने छ ।

लियो जिल्ला परिषद्का अध्यक्ष लियो विशाल रिजालका अनुसार युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास, कला संस्कृतिको प्रचारप्रसार, भातृत्व र नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि समेत सम्मेलनको आयोजना गरिएको जानकारी दिए । 

‘कास्कीको धम्पुसमा १४ मंसिरबाट १६ गतेसम्म तीन दिन ‘निवेदिता कलर दि ड्रिम अन्तर्राष्ट्रिय लियो सम्मेलन २०१८’ आयोजना गरेका छौं’ अध्यक्ष रिजालले भने ।

कार्यक्रममा भारत, बंगलादेश, इन्डोनेसिया, पाकिस्तान लगायत एसियाली तथा युरोपेली राष्ट्रका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । 

कार्यक्रममा प्रशिक्षकका रुपमा बेलायतबाट प्रमाणडित सुजय पौल, भारतको हरियाणामा रही द इन्स्पिरिङ्ग टल्क कार्यक्रम चलाईरहेका विजय गौतम लगायत नेपाली प्रशिक्षकहरुले समेत सहभागीहरुलाई प्रशिक्षण दिने छन् । 

कार्यक्रममा सहभागी हुन आउने अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई काठमाडौं उपत्यकाका पर्यटकीय स्थल सहित लुम्बिनी, पोखरा लगायतका पर्यटकिय गन्तव्यहरुको समेत अवलोकन गराइने आयोजक संस्थाका सदस्य लियो प्रकाश थापा क्षेत्रीले जानकारी दिए ।  

५ सय भन्दा बढी स्वदेशी तथा विदेशी लियो सदस्यहरुको सहभागिता हुने अपेक्षा लिइएको छ । 

सो कार्यक्रममा प्रशिक्षण पछि विभिन्न पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिने अध्यक्ष रिजालले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?