यी चार अवस्थामा प्रहरीले कसैलाई नसोधी गोली चलाउँछ : आईजीपी सिंह

लोकपथ
702
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् । भोलि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) सिंहले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रुपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ । उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको हो ।

गृह मन्त्रालयले निर्वाचन विरोधी समूह, जातीय, साम्प्रदायिक संघ, संगठनको गतिविधि, खुला सीमा, भौगोलिक विकटता लगायतका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा मतदान स्थललाई वर्गीकरण गरेको छ । त्यही अनुसार सुरक्षा रणनीति अख्तियार गरिएको छ ।

गृहमन्त्रालयका अनुसार मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई सामान्य संवेदनशील मानेर सुरक्षा व्यवस्थापन मिलाएको छ ।

त्यस्तै, निर्वाचन आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’ को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?