अधिकारसहितको समृद्धिका लागि उम्मेदवारी : नेतृ भट्टराई

RSS
35
Shares

कास्की । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकारसहितको समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला सङ्घ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्वारा आज पोखरामा आयोजित महिला भेलामा उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताइन् ।

अनेमसङ्घको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको उल्लेख गर्दै भट्टराईले थप अधिकार प्राप्तिका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजय गराउनुपर्नेमा जोड दिए । निर्वाचन क्षेत्र नं २ (ख) का उम्मेदवार मीना गुरुङले युवालाई उत्पादनसँग जोड्न र महिला सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् । सङ्गठित भएर निर्वाचनमा लाग्नुपर्नेमा उनको जोड थियो ।

प्रदेशसभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा.छममाया पुले विकास र समृद्धिको अभियानलाई अघि बढाउन एमाले उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । पार्टीले स्वास्थ्य क्षेत्रलाई सम्बोधन गरेकामा आभार व्यक्त गर्दै उनले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अनेमसँग निर्वाचन क्षेत्र नं. २ का संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहईञ्चार्ज मीनाकुमारी गुरुङलगायतले निर्वाचनमा जित्न जुट्नुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?