‘समुदाय–प्रहरी साझेदारी’ अभियान शुरु, प्रहरी सुखको साक्षी  दुःखको साथी

काठमाडौं । महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले आजबाट देशभर ‘समुदाय–प्रहरी साझेदारी’ अभियान शुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरी शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि पब्लिक र प्रहरी बीच साझेदारी आवश्यक रहेको बतायो ।

कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाका स्थानीय जनप्रतिनिधि, विद्यार्थी, युवा, अभिभावक, प्रहरी कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

‘हर प्रहर, गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ आयोजित ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सात वटै प्रदेशका ७७ वटा जिल्लामा लागू भएको जानकारी त्यस अवसरमा दिएको हो । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको शुभारम्भ गर्दै सरकार र प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्ने नभएकाले समुदायको सहभागिता अनिवार्य भएको बताए । 

उनले भने, ‘हाम्रै समुदाय भित्रकै गुण्डा, तस्कर, बलात्कारी, भ्रष्टाचारी लगायतका अपराधीलाई कानूनको कठघरामा ल्याउन नसक्दा अपराध बढेको छ, यसको नियन्त्रणका लागि सबै जाग्न जरुरी छ ।’

‘यो अभियानले महिला हिंसा, बालबालिकामाथिको बलात्कार, हत्या र अपहरण लगायतका घटनालाई नियन्त्रण गर्न नयाँ पहल कदमीको शुरुवात गरेको छ’, मन्त्री थापाले भने, ‘शान्ति सुरक्षा समृद्ध समाज निर्माणको महत्वपूर्ण पक्ष हो ।’

समृद्ध नेपाल सुखी नेपाल निर्माणका लागि शान्तिसुरक्षा र अपराध मुक्त समाज पहिलो प्राथमिकता भएको चर्चा गर्दै उनले प्रहरी सञ्चालन गरेको अभियानलाई दुरुदराजको घर दैलोसम्म पु¥याउन जनप्रतिनिधिको सक्रिय सहभागिता आवश्यक  रहेको बताए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको अवधारणा प्रस्तुत गर्दै आमनागरिक बर्दीविनाको प्रहरी भएकाले प्रहरीले सञ्चालन गर्ने अपराध नियन्त्रण अभियानमा समुदायको सहभागिता अनिवार्य भएको बताए ।

देशैभरका प्रत्येक टोलटो तथा वडा वडाहरुबाट लागू हुने ‘समुदाय–प्रहरी साझेदारी’ अभियानमा ७ सय ५३ वटा स्थानीय तह, ६ हजार ७४३ वटा वडाका वडा प्रमुखहरु, २ हजार ५४५ प्रहरी कार्यालयहरु, ३६ हजार विद्यालयहरु र १० हजार गैरसरकारी तथा सामाजिक संस्थाहरु परिचालन हुनेछन् ।

त्यस्तै, नगरपालिका र गाउँपालिकाका ३५ हजार जनप्रतिनिधिहरु, ७५ लाख विद्यार्थीहरु, ४० हजार अभिभावक, चारलाख शिक्षक–शिक्षिका र ७५ हजार प्रहरी कर्मचारी प्रत्यक्ष रुपमा यो अभियानमा सहभागी हुने छन् । 

प्रहरी महानिरीक्षक खनालका अनुसार, स्थानीय तहको न्यायिक अधिकार कार्यान्वयनमा प्रभावकारिता, सुरक्षा सचेतना अभिबृद्धि, सामाजिक विकृति नियन्त्रण, विकासमा प्रभावकारी सुरक्षा, अपराधमा न्यूनीकरण, प्रहरी तथा जनसेवा प्रवाहमा अभिवृद्धि गर्न स्थानीय तहमा बृहत र प्रभावकारी सञ्चालन फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पब्लिक प्रहरी साझेदारी अभियानको प्रभावकारी कार्यान्वयनका लागि समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरी पालिका समिति, वडा समिति, टोल समिति र प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ । 

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरे । ‘समुदायको सहयोगविना अपराध नियन्त्रण सम्भव छैन’, उनले भने, ‘समुदायको सुरक्षाका लागि समुदाय नै जाग्नुपर्छ ।’ 

चर्चित हास्यकलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकको प्रयोग र यसबाट सिर्जित अपराध तथा विद्यार्थी तथा अभिभावक जिम्मेवार नहुँदा आइपरेका दुःख र विपतका बारेमा चर्चा गरे । 

गजुरेलले भने, ‘प्रहरी सुखको साक्षी र दुःखको साथी हो, यसप्रति अविश्वास होइन, विश्वास गरेर सहयोग गर्दा समाज तथा तपाईं हामी जो कोही सुरक्षित भइन्छ, छोरी चेलीले बलात्कारको शिकार बन्नुपर्ने अवस्था आउने छैन ।’ 

विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाजका अगुवा र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको यो कार्यक्रमले प्रहरीका कामकारवाहीलाई प्रभावकारी बनाउनका साथै स्थानीयको सहभागितालाई शसक्त बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?