आज असत्यमाथि सत्यको जित अर्थात् विजया दशमी । देश भर अहिले दशैँको रौनक छाएको छ ।
बडादशैँ दशहरा, विजया दशमी नवरात्र आयुध–पूजा नेपालीहरूको प्रमुख चाड हो ।
राष्ट्रिय चाडको रुपमा लिइने दशैँ(नवरात्र) हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म(नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन टीका–प्रसाद ग्रहण र विशेष रुपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरी मनाइयो ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधना गरियो ।
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा दशैँ मनाइन्छ ।
बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ ।
तर, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले के न्याय पाउँला त ?
देश भर असत्यमाथि सत्यको विजय स्वरुप विजय दशमी मनाउँदै छन् भने बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाले न्याय पाउनुमा अन्यौल देखिएको छ ।
बलात्कारपछि हत्या भएको छयासी (८६) दिन बितिसक्यो । तर, प्रहरीले अहिलेसम्म निर्मला हत्याको मुख्य आरोपी समात्न सकेको छैन ।
गत भदौ ३१ गते नेपाल प्रहरीले निर्मला हत्याको छानबिन गर्नका लागि एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्य छानबिन समिति गठन गरेको थियो ।
त्यस्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत गत भदौ ७ गते पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

मैनाली नेतृत्वको छानबिन समितिले यही असोज ९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन समेत बुझाइसकेको छ ।
निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै सडकदेखि सदन तातिरहेपनि परिणाम अझै सतहमा देखिएको छैन । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला सदाका लागी बिदा भएको आज ८६ दिन भएको छ । तर, उनको बलात्कारी र हत्याराको अझै पत्तो लागेको छैन ।
जिल्ला प्रहरीले घटनाको शुरुवातदेखि नै प्रमाण नष्ट गरेकाले वास्तविक अपराधीसम्म पुग्न कठिनाइ भइरहेको छ । यसबीचमा कम्तीमा ४ वटा अनुसन्धान टोली फेरिएका छन् भने ५ वटा टोलीले अनुसन्धान गरिरहेका छन् । प्रधानमन्त्री १२ वर्षमा अपराधी पत्ता लगाउने भनिरहेका छन् । गृहमन्त्रीले घटना भएको केहि दिनमा नै संसदमा २ जना पक्रिएको अभिव्यक्ति दिएका थिए । उता प्रहरीले घटनामा आवश्यक पर्ने सबै प्रमाण नष्ट गरिसकेको छ । यो अन्यौलता अवस्थामा के विजया दशमीले असत्यमाथी सत्यको जित हात पार्ने आशिर्वाद दिन सक्ला ?
निर्मलाको न्यायको लागि अधिकारकर्मीको आन्दोलन
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा पटक–पटक प्रदर्शन हुँदै आएको छ ।
गत भदौ ३० गते ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको काठमाडौंको माइतीघर मण्डलाबाट प्रदर्शन शुरु भयो । निर्मलाका निम्ति न्याय माग्न हजारौंको संख्यामा प्रदर्शनकारी सहभागी भएका छन् ।
निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेर अधिकारकर्मीहरुले आन्दोलन गरेका थिए ।
त्यस्तै असोज २२ गते पनि काठमाडौंमा थाल ठटाएर विरोध प्रदर्शन भयो ।
काठमाडौंको माइतीघर मण्डलामा युवा नर्स सञ्जालले निर्मलाको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै थाल र चम्चा ठटाएर सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीहरुले दुइ महिना भन्दा बढी समय बितिसक्दा पनि निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनाको माग गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।
निर्मलाको लागी न्याय माग्दै कञ्चनपुरबाट शुरु भएको आन्दोलनले मुलुकभर नै उग्र रुप लियो ।
कञ्चपुरमा आन्दोलनकै क्रममा प्रहरी गोली लागेर १४ वर्षीय बालक सन्नी खुनाको मृत्यु भयो ।
आन्दोलका कार्यक्रम स्थगित
मुलुक भर दशैँको शुरुवात भएसँगै अहिले आन्दोलनका कार्यक्रमहरु स्थगित भएका छन् ।

निर्मलाका न्यायका लागि भन्दै सरकारविरुद्ध आन्दोलन चर्काइ रहेका अधिकारकर्मीहरु अहिले हिन्दूहरुको ठूलो चाड विजया दशमीका कारण आन्दोलका कार्यक्रम स्थगित गरेका हुन् ।
निर्मलाको बलात्कारपछि हत्या भएको ८६ दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म आरोपी पत्ता लगाउन नसक्नुले सरकार र प्रहरी प्रशासन माथि नै प्रश्न चिह्न खडा भएको छ ।
आमाबुबा न्याय माग्न काठमाडौँमा
छोरी निर्मलाको न्याय माग्न उनका आमाबुवा काठमाडौं नै आएका थिए । आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तका साथै प्रदेश ७ का अधिकारकर्मीहरुसमेत काठमाडौं आएका थिए ।
काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता समेत गरे ।
प्रधानमन्त्रीसँग पहिलो चोटी प्रत्यक्ष भेटेकी निर्मलाकी आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तले अपराधी चाँडो पत्ता लगाइदिन अनुरोध गरेका थिए । तर, ८६ दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

निर्मलाकी आमाको घटनाबारेको बयान सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखी बनाएको र अपराधा पत्ता लागाउने आश्वासन दिएका थिए । उनले भने, ‘निर्मलाको अभिभावक म पनि हुँ । यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु ।’ अपराधी छिट्टै पत्ता लगाउने आश्वासन दिएका थिए ।
हरेक वर्ष आफ्ना परिवार मिलेर मिठोमसिनो खाएर दशैँ मनाउँदै आएको थियो यो परिवारले । यसपालीको दशैँमा न निर्मला छिन् न त उनका परिवारले न्याय पाएका छन् । उनका आमाबुबा छटपटाइरहेका छन् । गृहमन्त्री, प्रधानमन्त्रीलाई यो सबै कुरा थाहा हुँदा सम्म पनि घटनाको सत्यतथ्य बाहिर आएको छैन । पीडित पिडामा डुबेको अवस्था छ । सरकार न्याय दिनबाट चुकेको छ ।
यो घटनाबाट देशमा न्याय मरेको आशंका आम नागरिकलाई परेको छ । प्रहरीप्रति चरम असन्तुष्टि बढेको छ । निराशा उत्पन्न भएको छ । आशा गरौँ यो वडा दशैँपछि पीडितले न्याय पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया