पूर्व जाने १५ सवारी कारवाहीमा, यात्रु बोल्दै बोलेनन्

काठमाडौँ– यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ ।

बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिरेको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता उपाध्यायले सुनाए ।

विभागले घटस्थापनादेखि गरेको अनुगमनका क्रममा ५१५ सार्वजनिक यातायातलाई कारवाही गरेको छ । कारवाही गरिएका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । सवारीमा बढी भाडा लिने, एउटै सिटको दुईवटा टिकट दिएर यात्रुलाई दुःख दिनेलगायत समस्या आएमा प्रहरीको निःशुल्क नं १०१ र १०३ एवं विभागको हटलाइन ९८५१२७३२२२ मा खबर गर्न विभागले सार्वजनिक आह्वान गरेको छ ।

यात्रुको गुनासाका आधारमा सम्बन्धित सवारीलाई कारवाही गरिने प्रवक्ता उपाध्यायले बताए ।
 चाडबाडका समयमा सार्वजनिक यातायातमा हुने अनियमित रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । एउटै सिटको दुई वटा टिकट दिने सवारीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीस्वरुप रु ५०० जरिवाना गरेको छ । दैनिक एक दर्जन सवारीले यस्तो गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ ।

घटस्थापनादेखि ७८ हजार ९५ सवारीमा सात लाख ५२ हजार ६७२ यात्रु दशैँ मान्न उपत्यकाबाहिर गएको महाशाखाको अभिलेख छ । यसै अवधिमा ६१ हजार २३३ सवारीमा तीन लाख ८१ हजार एक यात्रु उपत्यका भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?