३३ किलो सुन प्रकरण : फरार अभियुक्त श्रेष्ठ यूएईबाट पक्राउ

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् ।

सो घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार पक्राउ परेका श्रेष्ठलाई आइतबार काठमाडौं ल्याएको छ ।

जिल्ला अदालत मोरङमा श्रेष्ठविरुद्ध फरार अभियुक्तका रूपमा मुद्दा दायर छ ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ ।

श्रेष्ठविरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो । उनीसँगै सुन तस्करीका मुख्य लगानीकर्ताका रुपमा रहका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाई रमेश उप्रेती, हरिशरण खड्काको नाममा समेत रेड कर्नर नोटिस जारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?