नयाँ बसपार्कका आधा दर्जन समस्या, ‘पावर’ लगाएर टिकट किनबेच (भिडियो सहित)

काठमाडौं । नयाँ बसपार्कमा टिकट काट्ने र घर जाने यात्रुहरुको बाक्लो भिड छ ।  टिकट काउण्टरमा कुनै व्यवस्थित लाइन छैन । सहायताको लागि एक दुई जना प्रहरी देखिए पनि मानिहरु अलमलिएका छन् । 

मानिसहरुको भिडमा दुई दृष्टिविहीन हात समातेर हिँडीरहेका थिए ।

मानिसहरुको भिड र ठेलमठेललाई छिचोल्दै र आफूसँग भएको लठ्ठिले भिड पन्छाउदै नम्रता ठकुरी टिकट काउण्टर नजिक आइपुगिन् । 

दार्चुला घर भएकी नम्रता हाल गौरीघाट बस्दै आएकी छिन् । उनको दुबै आखामा दृष्टि छैनन् । 

सडकमा गित गाएर उनको गुजारा चल्ने गरेको छ । दशैँको लागि टिकट काट्न उनी आफ्नो श्रीमान सँग नयाँ बसपार्क पुगेकी थिइन् । उनको श्रीमान पनि दृष्टि विहीन हुन् । टिकट काउण्टरमा राम्रो व्यवहार नभएको उनले बताइन् । 

“हामी त पुरै कालो मात्र देख्छौ । हामी जस्तो दृष्टि विहीन र शारिरक अशक्तता भएकाहरुको लागि सरकारले केही व्यवस्था गर्दे त हुने हो । स्वयमसेवकहरु भइदिएको भए सजिलो हुन्थ्यो । उनले थपिन् । कार्डको छुट पनि छैन रे हामीलाई मात्र हो कि अरुको लागि पनि हो ?”

यात्रु सहायता कक्षको बारेमा थाहा नभएको उनले बताइन् । 

बाँके घर भएका कमल प्रभात हाल पुतलीसडक बस्दै आएका छन् । पेशाले उनी विद्यार्थी हुन्  । 

कलेज जानू पर्ने भएकाले टिकट काट्नको लागि समय नभएको उनी बताउँछन् । 

अनलाईन टिकट काट्ने व्यवस्था भयो भने विद्यार्थीहरुलाई सजिलो हुने उनको धारणा छ । ‘टोकन सिस्टमले पनि सजिलो हुने थियो । ’ उनले भने । 

उनी थप्छन्, “आफन्तलाई मात्र टिकट दिने चलन छ, नेपालमा । सिमीत व्यक्तिको मनोमानीका कारण पनि सर्वसाधारणहरुलाई समस्या हुने गरेको छ । चिनेको मान्छे भयो भने मात्र टिकट पाइने नत्र नपाइने । सरकारको कमजोरी प्रत्यक्ष देखियो ।” 

बैतडि घर भएका महेश भट्टको पनि समस्या त्यही । ६ /७ घण्टाको लामो प्रतिक्षा पछि उनको हातमा टिकट पर्यो । सरकारले प्रभावकारी नीति नियम बनाउन नसकेको उनको बुभाइ छ । 

कृष्ण बहादुर चन्दको सरकार प्रति आक्रोशित छन् । 

"नेताहरु आफ्नो लागि मात्र गर्छन् । जनताको लागि माखो मार्दैनन् । भाडा अचाक्ली वृद्धि भएको छ । पहिले १४०० सयमा टिकट पाइन्थ्यो अहिले २५०० को टिकट छ । गरिबहरुलाई मार त पर्छ नि । "

 

७० बर्षका रामचन्द्र राव भारतीय नागरीक हुन् । विश्वभर नै विज्ञान प्रवीधिको विकास भएतापनि नेपाल भने धेरै पछाडी भएको उनको बुझाई छ । 

हरेक सरकारी कार्यलयमा अचेल कम्पुटरको प्रयोग हुन्छ । टिकट काउण्टरमा चाहिँ खै त ? उनले प्रश्न गरे । 

नेपालमा हरेक वर्ष लाखौँ पर्यटकहरु आउने गरेका छन् । हवाई मार्ग र राजमार्ग प्रयोग गर्ने गरेका छन् । हवाईमार्ग प्रयोग गर्नहरुको लागि त सहज हुने गरेको छ तर राजमार्ग प्रयोग गर्न चाहनेहरु बसपार्क टिकट काउण्टरमा गएरै अलमल्ल पर्ने गरेका छन् । 

रावले टिकट काउण्टरहरुमा कम्प्युटरको व्यवस्था हुनु पर्नेमा जोड दिएका छन् । बिहान देखि टिकटको लाइनमा बसेका राओ टिकट काउण्टरमा नेपाली भाषाको मात्र प्रयोग भएकाले विदेशिहरुको लागि समस्या भएको उनको गुनासो छ । 

एकातिर टिकट नपाएको यात्रुहरु गुनासो गरिरहेका छन् भने अर्को तर्फ बस व्यवसायीहरु यात्रु नभएको बताउँछन् । बिहान बेलुका नै  खालि गाडी गुडाउन बाध्य भएको सुरेश क्षत्रीले भने ।

दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।

यातायात व्यवसायी र यातायात विभाग बिच समन्वय नभएकाले हरेक वर्ष यात्रुहरुले सास्ती ब्यहोर्ने गरेका छन् । चाडबाडको बेलामा काठमाडौंमा भएकाहरु अधिकांश उपत्यका बाहिर जान्छन् । हरेक वर्ष यात्रुको गुनासो त्यही हुन्छ । तर पनि तर सरकार र सम्बन्धित निकायको त्यस तर्फ ध्यान जान भने सकेको छैन ।

चाडबाडको बेलामा मात्र नभएर अन्य समयको लागी पनि टिकट काउण्टर व्यवस्थीत हुनु जरुरी देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?