काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दशैँ तिहारका नाममा लाइनका प्रहरीले खर्च उठाउने कार्य आफ्ना लागि असह्य हुने बताएका छन् ।
ललितपुरको सातदोबाटोमा जनसहभागितामा निर्मित महानगरीय ट्राफिक प्रहरी परिसर भवन बुधवार उद्घाटन गर्दै उनले भने, ‘केही दुषित कीराहरुले प्रहरी संगठनको बदनामी गराइरहेका छन् ।’
उनले चाडबाड मनाउन भन्दै मदिरा तथा खसीबोका, नगद वा जिन्सी लगायतका चिजवस्तु लिएको पाइएमा निलम्बन गरिने चेतावनी दिएका छन् ।
ललितपुर महानगरपालिका, त्यस क्षेत्रका समाजसेवी, उद्योग ब्यवासयी र सर्वसाधारणहरुको आर्थिक सहयोगमा निर्मित उक्त भवन नागरिक र प्रहरी ‘पार्टनरसीप’ कार्यक्रमको नमूना भएको स्मरण गराउँदै महानिरीक्षक खनालले आमनागरिकको सेवामा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
करीब आठ आना जमिनमा फैलिएको सो भवन साढे तीन तले छ । भवन निर्माण समितिका अध्यक्ष भरत महर्जनले दुई करोड १५ लाख रुपियाँमा भवन निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए ।
समितिले २०७२ सालबाट निर्माण कार्यको थालनी गर्ने योजना बनाए पनि महाविनाशकारी भूकम्प र नाकाबन्दीका कारण २०७३ साल घटस्थापनाको दिनबाट शिल्यान्यास गरिएको थियो । उनका अनुसार, भवन निर्माणका लागि तीन करोड ५० लाख आर्थिक सहयोग संकलन भएको थियो ।

सातदोबाटो चोकमै रहेको यो भवन सर्वसाधारणको चन्दा सहयोगमा निर्माण गरिएका उपत्यकाको विभिन्न भवनहरु भन्दा नमूनायोग्य रहेको छ ।
त्यस अवसरमा भवन निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुलाई सम्मान गरिएको थियो ।
यसैबीच, दशँै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना नियन्त्रण गर्न जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा टीपीआरएस ( ट्राफिक पुलिस ¥यापिड स्क्वाड) सेवा परिचालन गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा परिसरबाट ५५ वटा मोटरसाइकल सहितको ट्राफिक पुलिस ¥यापिड स्क्वाड टोली परिचालन गरिएको छ ।
यो टोलीमा एक सयजना प्रहरी परिचालन गरिएको छ । यो सेवाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक खनालले चाडबाडका नाममा सर्वसाधारणसँग ¥याल चुहाउनेहरुलाई कारवाही हुने चेतावनी दिए ।
‘काम गर्दागर्दै पनि सक्ने नसक्ने फरक कुरो हो’ उनले भने, ‘लाइन (वृत्त) पाए भन्दैमा अब एक वर्ष त ढुक्क छ भन्ने ठान्नुभएको होला, एकवर्ष त के हप्ता दिनमै तान्नुपर्ने स्थिति आउन सक्छ ।’
उनले आफ्ने क्षमता प्रदर्शन गर्न निर्देशन दिएका हुन् ।
दशैँका नाममा नगद तथा जिन्सी सहयोग नलिन सम्पूर्ण प्रहरी परिसर, वृत्त तथा प्रभाग लगायतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । चाडबाडका नाममा प्रहरी कर्मचारीले नै बदमासी गरेको खबर सुन्न नपरोस् । प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि त्यसो गर्नु छ भने जागीर छोडेर गए हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया