‘दशैँ मनाउन उपत्यकाबाट दश लाख मान्छे बाहिरिए, खसीबोका भित्रिए’

काठमाडौँ । नेपालीहरूको महान पर्व दशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । 

महानगरीय टाफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तका अनुसार, आजसम्म करीब १० लाखले राजधानी छोडेका छन् । २२ गते सोमवारबाट दैनिक एक लाखको हाराहारीमा सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

त्यसअघि दैनिक ३० देखि ४० हजार बाहिरिन्थे तर आजबाट यो चाप बढ्यो महाशाखा प्रमुख पन्तले भने, 'भोलि झन् बढ्नेछन्, २४ गते घटस्थापनासँगै उपत्यकाका अधिकांश स्कुल कलेजहरू बन्द भएका छन्, त्यस कारण पनि बाहिरिने चाप बढ्ने अनुमान गरिएको हो ।'

काठमाडौं उपत्यकाको मुख्य नाका नागढुंगाबाट दैनिक २० हजार भन्दा बढी सवारी साधनहरूले आवत–जावत गरिरहेका छन् । यो नाकाबाट बाहिरिने कुनै पनि गाडी रित्तो छैन । 

सबैले यात्रु बोकेर बाहिरिने गरेका छन् । त्यहाँ तैनाथ ट्राफिक प्रहरीका अनुसार, मोटरसाइकल समेत दुई–दुई जना यात्रु बोकेर निस्कने गरेका छन् । 

उपत्यकाबाट बाहिरिने सबै सवारीमा यात्रु अनिवार्य 

ट्रक, टिपर, कार, मोटर, मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, कन्टेनर, जे–जति सवारी साधनहरू बाहिरिन्छन्, सबैमा यात्रु नै यात्रु बोकेर जान्छन् । 

त्यस्तै काठमाडौैं उपत्यकामा भित्रिने सवारी साधनकोहरूको संख्यामा पनि कमी छैन । जति सवारी साधन बाहिरिन्छन्, त्यतिकै भित्रिने गरेका छन् । 

नागढुङ्गा प्रभागका प्रहरी निरीक्षक केशव भट्टले भने, ‘भित्रिने सवारी साधनहरू यात्रु बोकेर नभई सामान बोकेर मात्र आउने गर्छन् ।’ 

उपत्यका भित्रिने सवारीहरूमा खसीबोका, हाँसकुखुरा र फलफूल

बाहिरबाट आउने अधिकांश सवारी साधनहरूमा खसीबोका, राँगा, हाँस, कुखुरा र फलफूल लगायतका सामग्री भित्रिने गरेका छन् । बसको छतदेखि गाडीको डिक्कीबाट खसीबोका आउने गरेका छन् । 

खसी, बोका, राँगा, हाँस र कुखुरा गरी ५० हजार भन्दा बढी भित्रिएको अनुमान गरिएको छ । खसी बोका बोकेका करीब २० टक भित्रिएका छन् ।

भक्तपुरको साँगा जगाते, दक्षिणकाली फर्पिङ, बालाजु मुड्खु भञ्ज्याङ, टोखा, रामकोट, साँखु, ललितपुरको ताँथली आदि काठमाडौं उपत्यका प्रवेशका मुख्य नाकाहरूमा सवारी साधनहरूको बाक्लो ओहोर–दोहोर हुने गरेको छ । 

नागढुङ्गा सडक खुल्यो

सडक कालोपत्रे गर्ने नाममा एक हप्ताका लागि राति आठ बजेदेखि पछिल्लो बिहान पाँच बजेसम्मका लागि बन्द हुँदै आएको नागढुङ्गा पिपलबोट सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
यो सडक २३ गते मंगलवार रातिबाट सञ्चालनमा आएको हो । यो सडक कालोपत्रे गरेसँगै नागढुङ्गा धुलोमुक्त भएको छ । 

त्यस्तै दशैँमा घरजानेहरूको यात्रा सहज र सुरक्षित बनाउन कलंकीदेखि नागढुङ्गासम्मको क्षेत्रलाई जाममुक्त बनाउने प्रयास भइरहेको छ । 

सडक किनारामा ट्राफिक तथा जनपद प्रहरीको संख्या थपिएको छ । नागढुङ्गादेखि नौबिसे सडक खण्डलाई जाममुक्त बनाउन झ्याप्ले खोलामा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । 
नागढुङ्गा उकालोमा हुने जाम हटाउन तथा बाटोमा बिग्रिएका सवारी साधनहरू साइड लगाउन दुईवटा क्रेनको व्यवस्था गरिएको छ । 

३५ लाख बाहिरिने अनुमान

काठमाडौं उपत्यकामा करीब ४० लाख जनसंख्या रहेको अनुमान गरिएको छ । तीमध्ये करीब ३५ लाख बाहिरिने अनुमान गरिएको छ । 

दशैँमा काठमाडौं उपत्यका शून्यजस्तै देखिने गरेको छ । तिहारमा भने दशैँको जस्तो शून्यता हुँदैन । दशैँमा प्रायः काठमाडौंमा घर भएकाहरू पनि पूख्र्यौली थलोमा जाने भएकाले यस्तो अवस्थामा आउने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?