कुमार राना उद्धार अभियान समितिले मन्त्रालयलाई ६२ लाख ७४ हजार बुझाइयो

काठमाडौं । साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा आवश्यक रकम बुझाएको छ । 

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल (करिब ६२ लाख ७४ हजार रुपैयाँ) बुझाएको हो । बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो ।

उक्त रकम मूल समिति संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका रानामगरद्वारा परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो ।  

कुमार राना मगरको उद्धारका लागि नेपाल, साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायका संघसंस्था तथा व्यक्तिहरुको सक्रियतामा २०७५ वैशाख १ गतेदेखि अभियान शुरु गरिएको थियो । कुमार राना उद्धारका लागि सञ्चालित अभियानबाट संकलित रकम प्रभु बैंक कलंकी शाखामा जम्मा गरिएको छ । अभियानबाट ७७ लाख ८३ हजार २ सय ७१ रुपैयाँ संकलन भएको छ । 

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिको निर्णय छ । समितिको आम्दानी र खर्चको हिसाब किताब कुमार राना मगर नेपाल फर्किएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ । 

२०७१ सालमा साउदी अरब गएका कुमार राना मगर त्यहाँको खलिद एस अल कम्पनीमा कार्यरत थिए । उनले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते घाइते भएका साउदी नागरिक खलिद विन फहाद विन सदरलाई २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय त्यहाँको अफिफ जनरल कोर्टले २०७४ वैशाख ४ गते गरेको थियो । क्षतिपूर्ति रकम तिर्न नसक्दा २०७४ असोजमा प्रहरी हिरासतमा परेका कुमार रानामगर २०७४ पुसदेखि अफिफ सेन्ट्रल जेलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?