चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन, बजार अनुगमन हुने

काठमाडौं । सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ बनाउन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो ।

बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । तर, केही महिनाअघि चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चिनीको खुद्रा मूल्य ६३ रुपैयाँसम्म गर्न सकिने बताएका थिए । यही मूल्यका आधारमा समितिले ६३ रुपैयाँ तोक्न निर्देशन दिएको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी ७० रुपैयाँभन्दा महंगोमा विक्री गरे कारवाही गर्ने चेतावनीसमेत दिएको थियो । यद्यपि बजारमा भने चिनीलाई प्रतिकिलो ९० रुपैयाँसम्ममा विक्री गरेको पाइएको छ ।

चिनीको मूल्यवृद्धि सम्बन्धमा छानविन गर्न समितिले उपसमिति समेत गठन गरेको छ । लेखाराज भट्टकाे संयाेजकत्वमा ५ सदस्यीय छानविन उपसमिति गठन गरिएको छ ।

चाडबाड नजिकिएसँगै चिनी तथा अन्य खाद्य वस्तुको मूल्य बढेको छ । उपसमितिले बजारको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन तयार पारी समितिमा बुझाउने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?