नुरप्रसाद अधिकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी

काठमाडौं । मुद्दा हारेपछि इजलासमा तोडफोड गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ । 

आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड गर्नुका साथै उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गरेका अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको हो । 

यस विषयमा प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

असोज ७ गते पक्राउ परेका अधिकारीले उच्च अदालतका अधिकृत बस्नेतमाथि ज्यान लिने उद्देश्यले कुर्सी हान्नुका साथै इजलास तोडफोडसमेत गरेका थिए । 

उच्च अदालत पाटनमा बिन्दु धतानी सुनार वादी रहेको मुद्दामा अधिकारी वारेस थिए । 

अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि बिन्दुले मुद्दा हारेकी थिइन् । मुद्दा हारेपछि वारेस बसेका अधिकारीले इजलास तोडफोड गरेका थिए । कम्युटर, दराज तोडफोडसँगै उनले इजलास अधिकृत बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए ।

गोरखा फुजेल हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै लामो समय अनशन बसेकी गंगामाया अधिकारीका छोरा हुन् नुरप्रसाद अधिकारी ।

गत साउन २० गते बेपत्ता रहेका अधिकारीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?