निर्मला हत्याकाण्ड: प्रहरीले भन्यो‌, डीएनए परीक्षण दुईटै ल्याबबाट

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको डीएनए जाँचमा आशंका उब्जिएपछि प्रहरीले डीएनए जाँच दुईवटा प्रयोगशालामा भएको जनाएको छ ।

निलम्बित एसपी डिल्ली विष्टको डीएनए नमिलेपछि नमूना डीएनए नै शंका त होइन? भन्ने प्रश्न उठेपछि प्रहरी हेडक्वाटरबाट एक विज्ञप्ति जारी गर्दै डीएनएको नमूना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण गरिएको बताएको हो ।

विज्ञप्तिमा जबरजस्ती करणीपछि हत्या गरिएको सम्बन्धमा तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, निजका छारा किरणराज विष्ट र स्थानीय आयुष विष्टबाट संकलित डीएनए नमूना दुई प्रयोगशालामा भनिएको छ ।

निर्मला हत्या प्रकरणमा भदौ ४ मा पक्राउ गरिएका दिलिपसिंह विष्टको पनि डीएनए परीक्षण गरिएको थियो । उनको परीक्षण भने राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा मात्र भएको थियो । निर्मलाको यौनीबाट संकलन गरिएको भेजिनल स्वाबका आधारमा डीएनए चेक गरिएको हो ।

निर्मला पन्तको साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो । घटना घटेको २ महिना बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?