प्रदेशसभा बैठक : सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले सिँचाइसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।  

आइतबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक प्रस्ताव पेश गरेका हुन् ।  

यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(८) बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रस्तुत गरेको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य उमिता विक, राजकुमार ओझा र मोहम्मदताहिर मियाँले विधेयक सर्वोत्कृष्ट रहेकामा पूर्ण समर्थन जनाएका थिए । 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले ऐनलाई उत्कृष्ट बनाउन सात प्रदेशसभाका सदस्यले दर्ता गराएको संशोधन प्रस्तावपछि बनेको विधेयक निकै फलदायी छ भने । 

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले निजी अस्पतालमा चिकित्सकका कारण मृत्यु हुने बिरामीका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । प्रदेशसभा सदस्य सूर्यराज राईले प्रदेश नं १ को स्थायी राजधानी र नाम छिट्टै कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य राधा थापाले विराटनगर महानगरपालिकामा ढल, नाला र खानेपानीको उचित प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । सदस्य केदार कार्कीले प्रतिपक्षको पूर्ण सहयोग र समर्थन हँुंदा पनि प्रदेश सरकारले सदनलाई छलेर काम गरिरहेको आरोप लगाए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?