काठमाडौं । प्रहरीले मालपोत कार्यालय, चाबहिलका प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाले मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिम्सिना, नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताललाई पक्राउ गरेको हो ।
बुढानिलकण्ड नगरपालिका–५ का चन्द्रनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा उनीहरु पक्राउ गरेका वृत्तका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।
साथै मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई समेत सोही आरोपमा पक्राउ परिसकेका छन् ।
यसअघि प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरि अनुसन्धान थालिएको थियो ।
डिएसपी मल्लका अनुसार पक्राउ परेकाहरुमाथि लिखत सम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको बताए ।
उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया