निर्मला बलात्कारपछि हत्या प्रकरण: घटनाको अनुसन्धान थप रहस्यमय बन्दै, एसपी विष्टको डिएनए मिलेन

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । उनको शव भोलिपल्ट बिहान उखु घारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएको ६७ दिन पुगि सक्दा पनि अहिलेसम्म अपराधीको पत्ता लागेको छैन थप रहस्यमय बन्दै गएको छ । 

प्रहरी प्रधान कार्यालयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन (डिएसपी) ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत (इन्स्पेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) धीरु बस्नेतको नेतृत्वमा नौ सदस्यीय छानविन टोली समेत गठन गरेको थियो । 

यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा समिति गठन भएको थियो ।

समितिका संयोजक सह–सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई असोज ९ गते प्रतिवेदन बुझाएका थिए । छानबिन समितिबाट कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटि’ भएको सार्वजनीक भएको थियो । 

गत भदौ २८ गते निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणनिम्ति नमूना संकलन गरिएको थियो । 

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्ट लगायत उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएसए परीक्षण गरिएको हो । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका एसपी डिल्लीराज विष्ट लगायत उनका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको रिपोर्ट आएको छ।

रिपोर्ट अनुसार तीनै जनाको डिएनए मेल खाएन । आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको थियो ।

यसअघि पनि प्रहरीले पन्तको बलात्कारपछि हत्या भएको २५ दिनमा मुख्य अभियुक्त भन्दै कञ्चनपुरकै दिलीपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, दिलीपको (डिएनए) परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए  । 

निर्मलाको वास्तविक अपराधी को हुन्? यो प्रश्न आम नागरिकको चासोको विषय बनेको छ । 

निर्मलाका आमाबाबु मात्रै होइन, देश नै यही प्रतीक्षामा छ ।

सम्बन्धीत समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?