काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ ।
हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’
नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए। सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन्। आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया