पेट्रोलियम पदार्थ ढुवानीको समस्या छिट्टै समाधान हुने

जनकपुरधाम । नेपाल सरकारले भारत सरकारसंग मिलेर पेट्रोलियम पदार्थ ढुवानीको समस्याको समाधान खोज्न लागि परेको छ ।

सो समस्या समाधानका लागि मोतीहारी देखि अमलेखगंजसम्म ६९ किलोमिटर लामो ग्यास पाइपलाइनको काम भईरहेको छ भने धनुषाको महेन्द्रनगरदेखि भारत विहारको मुज्जफरपुरसम्म समेत पाइपलाइन ओछाउने विषयमा समभाव्यता अध्ययन भईरहेको छ । यी दुई पाइपलाइन ओछाएर भारत सरकारसंग मिलेर नेपालले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि एक कदम अगाडी बढाएको छ ।

जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले संचारकर्मीहरुसंग कुरा गर्दै नेपाल र भारतले यस विषयमा सम्झौता गरेर द्रुतगतिमा पाइपलाइनको काम अगाडी बढाई रहेको जानकारी दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको ढुवानी समस्या समाधानका लागि भारत विहारको मोतिहारीदेखि अमलेखगंजसम्म ग्यास पाइपलाईन ओछ्याउने काम भईरहेको र छिट्टै नै धनुषाको महेन्द्रनगरदेखि मुज्जफरपुरसम्मको ग्यास पाइपलाइनको विषयमा समेत सम्भाव्यता अध्ययन भईरहेको जानकारी दिएका छन् ।

मन्त्री यादवले पाइपलाइनको ६० प्रतिशतभन्दा बढी काम भईसकेको बताउँदै छिट्टै नै अमलेखगंज पाइपलाइनको काम सम्पन्न हुने बताए ।

यो पाइपलाईनको काम सम्पन्न भएसंगै नेपालले पेट्रोलियम पदार्थ ढुवानीमा हुने गरेको टैंकरको समस्या, चुहावट लगायतको समस्या धेरै हदसम्म समाधान हुनेछ भने आपूर्ती गर्न समेत सहज हुनेछ ।

मन्त्री यादवले डलरको भाउ बढेकोले पेट्रोलियम पदार्थको मूल्य बढाउनु पर्ने हाम्रो बाध्यता रहेको बताए ।

यता भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले यो पाइपलाइनको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएपनि समयसीमा भन्दा अगाडी नै काम सम्पन्न हुने बताए । ३ सय २२ करोडको लागतमा भारत सरकारले पाइपलाईन ओछाउने काम गरिरहेको बताउँदै मन्त्री टैंकरबाट पेट्रोलिय पदार्थ ढुवानी गर्ने समस्या समाधान हुने बताए ।    

नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको समयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा परियोजनाको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?