काठमाडौं– १२ औं महाधिवेशनको मिति नजिकिएसँगै नेविसंघका नेताहरु आफ्नो पक्षमा माहोल बनाउन जिल्ला दौडाहामा जुटेका छन् ।
यसैक्रममा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा अन्य विद्यार्थी नेताहरु निरन्जन थापा, शिजर भट्ट, महेश मडी पौडेललगायतको टोली विभिन्न जिल्ला दौडाहामा पुगेका छन् ।
गोर्खाबाट नेविसंघका स्थानीय नेताहरुसँग भेटघाट, छलफल र अन्तरक्रिया सुरु गरेका उनीहरु लमजुङ ,तनहुँ ,कास्की, पर्बत , बाग्लुङ , म्याग्दी , स्याङ्जा र पाल्पा जिल्ला हुँदै शनिबार बुटबल पुगेका छन् ।
यी मध्ये कास्की र रुपन्देहीबाहेक अरु जिल्लामा अधिवेशन गर्न स्थानीय नेविसंघका नेताहरु आतुर देखिएको उनीहरुले बताएका छन् ।
नेविसंघका केन्द्रीय सदस्य भट्टले अधिवेशनका लागि स्थानीय जिल्ला समितिले गर्न पर्ने तयारी पूरा गरिसकसको भएपनि केन्दले विधान र केन्द्रिय प्रतिनिधि नपठाएकाले अलमल जस्तो देखिएको बताए । नेविसंघ केन्द्रीय समितिले विधान अनुमोदनका लागि पार्टीलाई बुझाएको भएपनि हालसम्म विधान अनुमोदन हुन सकेको छैन । पार्टीबाट विधान अनुमोदन गर्न ढिलाई हुँदा संगठनले केन्द्रीय प्रतिनिधि खटाउन नसकेको जानकारी दिँदै भट्टले आफूहरु पुगेका कास्की र रुपन्देही जिल्लामा प्रतिनिधि खटिएको १५ दिनभित्र अधिवेशन सम्पन्न गराउन सकिने अवस्था रहेको बताए ।
नेविसंघको महाधिवेशन आगामी कात्तिक १६,१७ र १८ गते गर्ने तय भएको छ ।
सोअघि क्याम्पस र जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने कार्यतालिका छ । तर निर्धारित कार्यतालिकाअनुसार अधिवेशनहरु हुन सकेका छैनन् ।
कार्यतालिकाअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन गरिसक्नुपर्ने थियो । यसरी अधिवेशन गरिसक्नुपर्ने अवस्थामा केन्द्रीय प्रतिनिधिसमेत नखटिँदा अन्योलता देखिएको हो ।
यस्तै कार्यतालिकाअनुसरा असोज १५ गते प्रदेश क्षेत्र अधिवेशन, असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ।
नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपनि कांग्रेसले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेअनुसार कात्तिक १६ देखि १८ गतेसम्मको लागि मिति तय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया