माधव नेपालले जनाए लिखित असहमति

काठमाडौं–नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन् । आफ्नो अनुपस्थितिमा विधि र प्रक्रिया मिचेर निर्णय गरिएको भन्दै नेपालले महासचिव विष्णु पौडेललाई शुक्रबार असहमतिपत्र बुझाएका छन् ।

उनले शुक्रबारै स्थायी समिति सदस्यहरूको भेला गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल एकलौटी ढंगले अघि बढ्न खोजेकाले त्यसविरुद्ध संगठित आवाज उठाउन आग्रह गरे । स्थायी समितिका नेताहरूका लागि चियापान कार्यक्रम भन्दै उनले राजधानीको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा झन्डै साढे दुई घण्टा भेला गरेका थिए ।

नेपाल अफ्रिकी मुलुक घाना गएका बेला साताअघि पार्टीको सचिवालयले सातवटा प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव तोकेको थियो । प्रदेशका मुख्य नेतालाई जिल्लास्तरको एकताको काम गर्ने गरी सचिवालयले तल्लो तहमा सर्कुलरसमेत गरेको थियो । सचिवालय पार्टीको निर्णय गर्ने थलो नै नभएको, विधि र प्रक्रियाभन्दा फरक तरिकाले निर्णय भएको र नेताहरूबीचको सहमतिविपरीत गएको नेपालले असहमतिपत्रमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

नेपालले प्रदेश र जिल्लाको नेतृत्व चयनको मापदण्ड बनाउनुपर्ने, त्यसमा वरिष्ठतालाई प्राथमिकता दिनुपर्ने, दोहोरो जिम्मेवारी दिन नहुने, स्थायी समितिबाट राजनीतिक प्रकृतिका निर्णय गर्नुपर्नेलगायत धारणा राख्दै आएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?