मलेसियासँग श्रम सम्झौता: अब कामदारको हवाई शुल्क रोजगारदाताले बेहोर्ने

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौतामा सहमति भएको छ । मलेसियाका सरकारी अधिकारीहरुले नेपालले शून्य लागतमा कामदार पठाउन गरेको प्रस्तावमा सहमति जनाएका हुन् ।

शुक्रवार मलेसियाका अधिकारी र नेपाली अधिकारीहरुबीच सम्पन्न बैठकले समावेश गरिएको मस्यौदामा छलफल गरिएको प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी गराए ।

अब मलेसिया पठाउँदा सम्पूर्ण खर्च र कामदार मलेसिया जाँदा म्यानपावर कम्पनीले दिने सेवा शुल्कसमेत मलेसियाका रोजगारदाताले दिनुपर्नेछ । कामदार मलेसिया जाँदा लाग्ने हवाई टिकट, भिसा शुल्क तथा स्वास्थ्य परीक्षणलगायतका खर्च पनि मलेसियाली रोजगारदाताले नै ब्यहोर्ने मस्यौदामा उठाइएको छ ।

यो सहमतिसँगै मलेसिया जाने कामदारमा आर्थिक भार घट्ने देखिएको छ ।

मलेसियाले सन् २००१ देखि नेपालबाट कामदारको माग गर्दै आइरहेको छ । औपचारिक रुपमा नेपालबाट कामदार पठाइने गरे पनि मलेसियामा उच्च जोखिम भएको र कमाइ पनि खासै नहुने भन्दै नेपालीले मलेसियामा जान खासै चासो दिने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?