चोरबाटोबाट साना गाडी, यातायात कार्यालयले नै दिन्छ नियमविपरीत रुट परमिट

काठमाडौं–यातायात व्यवसायीहरूले अस्थायी रुट परमिट लिएर चोरबाटोबाट साना सवारी सञ्चालन गर्दै आएका छन् ।

चाडपर्वलाई लक्षित गर्दै साना सवारीसाधनले चोरबाटोको रुट परमिट लिने गरेका छन् । दसैंको मुखमा यो क्रम झन् बढेको छ ।
साना सवारी २५० किलोमिटरभन्दा टाढासम्म जान नपाउने कानुनमै बर्जित छ । तर, विभिन्न यातायात कार्यालयले भने अस्थायी रुट परमिट दिएर त्यस्ता सवारीलाई चोरबाटो प्रयोग गर्ने कानुनी आधार दिएका छन् ।
पूर्वाञ्चल जिप व्यवसायी प्रालिका अध्यक्ष खड्ग श्रेष्ठले साना सवारी सञ्चालनका लागि लामो दूरीको अस्थायी अनुमति जिल्लाअनुसारका यातायात कार्यालयबाट लिएको बताए ।
उनले भने, ‘हामी जुनजुन जिल्ला हुँदै सवारी चलाउँछौं, त्यहाँका रुट परमिट लिएका छौं ।’ काठमाडौंबाट झापा जाने सुमो तथा माइक्रोबसका लागि लहान, इटहरी तथा बिर्तामोडलगायतका स्थानका यातायात कार्यालयबाट अस्थायी रुट परमिट लिएको उनले बताए ।

यातायात व्यवस्था विभागले साना सवारीको सीमित दूरीको यात्रा परमिट मात्र रहेको जनाएको छ । तर, विभागअन्तर्गतका यातायात व्यवस्था कार्यालयले भने रुट परमिट दिने गरेका छन् । विभागका अनुसार २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरिएको छ ।
काठमाडौंदेखि पूर्व झापासम्म ६१५ किलोमिटर छ । तीन–चार ठाउँबाट अस्थायी परमिट लिनुपर्छ, जुन विभागले अवैज्ञानिक भनेको छ । कानुनी रूपमा त्यस्तो गर्न नमिल्ने भए पनि छोटो समयका लागि व्यवसायीले यातायात जिल्ला कार्यालयलबाट त्यस्तो परमिट दिने गरेको बताउँदै सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘चाडबाडलाई लक्षित गर्दै त्यस्तो अनुमति दिने गरिएको छ ।’ रुट व्यवस्थापनको पाटोमा भएको कमजोरीका कारण यस्तो अवस्था आएको विभागको ठहर छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?