नेपालको विपद् व्यवस्थापन गर्न संयुक्त सैनिक अभ्यास थालियो

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्ड अन्तर्गत विभिन्न देशका सेनाहरुको सहभागितामा विपद व्यवस्थापन सम्बन्धी चार दिने बृहत अभ्यास शुरु भएको छ ।

यो अभ्यासको सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलवार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा उद्घाटन गरेका हुन् ।

नेपालमा अब आउन सक्ने महाविनाशकारी भूकम्प लगायत विभिन्न विपदलाई लक्षित गरी आयोजना गरिएको सो अभ्यासले विपदबाट जोगिन गरिने अग्रीम तयारी, विपदपछिको उद्धार, उपचार, पूनर्स्थापना र राहत वितरण जस्ता विषयमा छलफल गर्ने जनाइएको छ । 

औपचारिक र अनौपचारिक गरी चार दिनसम्म सञ्चालन हुने यो अभ्यासले विभिन्न देशका सेना तथा सुरक्षाकर्मी, स्वयमसेवक, सरकारी तथा गैरसरकाी संघ संस्थाका प्रतिनिधि कर्मचारीलाई ज्ञान, सीप, कला तथा क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । 

कार्यक्रममा प्रधानसेनापति थापाले नेपाल विपदको दृष्टिकोणले उच्च जोखममा रहेकाले यस किसिमका बहुआयामिक अभ्यासले विपद् व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने बताए । 

करीब दुईजनाको सहभागितामा रहेको उक्त अभ्यासमा क्रममा अस्पताल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत अभ्यास हुने भएको छ ।

त्यस्तै दुर्गम क्षेत्र दैलेखलाई आधार बनाई सो स्थानमा जान सक्ने भूकम्प र त्यसको व्यवस्थापनका विषयमा पनि अभ्यास गरिने सेनाले जनाएको छ । 

विपद् व्यवस्थापनमा सरकारी तथा गैर–सरकारी निकायबीचको समन्वय, सुरक्षा निकायबीचको सञ्चार आदान प्रदान र समन्वयकारी भूमिका, घाइतेको उद्धार, उपचार, राहत वितरण जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । 

कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले नेपालमा बाढी, पहिरो, डुबान, सवारी दुर्घटना, भूकम्प, हिम पहिरो, आगलागी, चट्याङ र सरुवा रोगको माहामारी जस्ता विपद भइरहने भएकाले यस किसिमको अभ्यासले त्यस्ता विपदको न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । 

सरकारले विपद् व्यवस्थापनका क्षेत्रमा देखिएका नीतिगत सुधार, ऐन नियम निर्माणमा सुधार गर्दै गएको स्पष्ट पार्दै सचिव राईले भने, ‘सेना र पब्लिकबीच हुने विपद् जोखिम न्यूनीकरण अभ्यासले क्षमताका अतिरिक्त फिल्डमा काम गर्न सजिलो बनाउनेछ ।’

नेपालका लागि अमेरिकी राजदूत माइकल गोन्जालेले प्राकृतिक विपद् मानव समुदायका लागि काल भएर आउने भएकाले अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले विभिन्न देशका सुरक्षा निकायसँग यस किसिमको अभ्यास सञ्चालन गर्दै आएको बताए । 

विपदले धनजनका अतिरिक्त मुलुकलाई नै आर्थिक संकटमा पार्ने भएकाले यस्ता विपदसँग लड्न सक्ने क्षमताको विकास गर्न जरुरी रहेको भनाई उनको थियो ।

अभ्यासमा विभिन्न मन्त्रालयका कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्काउट, भूकम्प तथा जलसंग सम्बद्ध विज्ञहरुको सहभागिता रहेको छ । एकतावद्ध हुनु नै विपद् व्यवस्थापनको प्रभावकारिता हुनेमा सहभागिहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?