अग्रिम टिकट बुकिङसँगै गोंगबु बसपार्कमा चहलपहल बढ्यो [फोटो फिचर]

काठमाडौं । आजबाट खुलेको अग्रिम बुकिङसँगै दशैँमा घर जाने यात्रु र टिकट काट्ने यात्रुको चहलपहल बढेको छ ।

गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ४ बजेदेखि नै यात्रु टिकट काट्न लाइन लागेर बसेका थिए ।

दशै मनाउन देशका विभिन्न स्थानमा जानका टिकट काट्ने यात्रुको लाइन मिलाउन प्रहरी समेत खटाइएका थिए ।

ल्होत्से बहुउद्देश्यीय कम्पनीमा कार्यरत कर्मचारी हिरासिंह कुँवरले भने, ‘अहिले लस्कर निकै कम भएको हो, बिहान चारैतिर भीड थियो ।’

राम्रो सिट र बस रोजेर टिकट काट्न पाइने भएकाले यात्रुहरु बिहानै टिकट काट्न आएका थिए । बिहानैदेखि लाइन बसेर दश बजेतिर टिकट पाएका अर्घाखाँचीका सुमेश भुसालले भने, ‘यति भएपछि टिकट पाइयो, एकछिन लाइन लाग्नुपरे पनि अब चाहिँ दशैमा घर पुग्नलाई ढुक्क भइयो ।’

सामाखुशीमा बस्दै आएका यात्रु सुमेशले बसपार्क नजिक भएकाले पनि बिहानै आएर टिकट बुकिङ गर्न सहज भएको बताए ।

बुकिङ आजबाट खुले पनि अब झण्डै एक हप्तासम्म यस्तै भीड हुने टिकट विक्री गर्दै आएका सुदूरपश्चिम यातायातका मीन पनेरुले बताए । 

‘यो भीड आज मात्र होइन, अब केही दिन यसरी नै बढी रहने छ , १०÷१२ दिन भीड नै हुन्छ’, उनले लोकपथलाई भने, ‘बिहानदेखि अहिलेसम्म कति टिकट बेचियो भन्ने अनुमान गर्न सकिन्न, मैले आफैले ३ सय बढी टिकट काटेँ हुँला ।’

काठमाडौंबाट छुट्ने बसमध्ये धेरै टिकट पूर्व झापादेखि सुदूरको धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ,  गुल्मी, अर्घाखाँची र बाग्लु्ङ लगायतका टाढाका रुटमा हुने गरेको बताइएको छ ।

कहाँको भाडादर कति? हेर्नुहोस् सूचीः

तस्वीरः अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?