प्रदेश २ सरकारले सम्झना दासको परिवारलाई थप ३ लाख राहत दिने

काठमाडौं । प्रदेश २ सरकारले सम्झना दासको परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको हो । यसअघि प्रदेश सरकारले सम्झनाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले उपचाररत सुस्मिता दासको उपचारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

यसैबीच, मुख्यमन्त्री राउतले एसिड आक्रमणको छानवीन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् ।

दुई साताअघि एसिड आक्रमणमा परेर घाइते भएकि रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ।  उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ। उनी जादोलालका छिमेकी थिए।

पासवानले समझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।  उनका सम्न्धमा थप छानबिन भइरहेको छ । 

एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको  छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?