२० तस्वीरमा हेर्नुहोस् बसन्तपुरको भव्य इन्द्रजात्रा [फोटो फिचर]

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइने यो पर्व आज सोमबार बसन्तपुरमा पनि भव्यताका साथ मनाइयो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

आज इन्द्रजात्रा मनाउन बसन्तपुरमा हजारौंको सङ्ख्यामा भीड लागेको थियो । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।

इन्द्रजात्रासँगै नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी समेत दिएको थियो ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो ।

 

 

तस्वीरहरूः अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?