आज अन्तर्राष्ट्रिय शान्ति दिवस: शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्ति कायमै

आज सेप्टेम्बर २१, ३६ औं अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । 

सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘शान्तिको अधिकार’ रहेको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७० औं वर्ष पूरा भएको अवसरमा यो नारा तय गरिएको हो । 

नपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।  

कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । 

दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ ।

आज शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ ।

तर आज विश्वमा शान्तिका लागि जति धनराशि खर्च गरिँदैछ त्यो भन्दा कैयौँ गुना बढी सशस्त्रको होडबाजी, आणविक अस्त्र परीक्षण युद्धमा खर्च भइरहेको छ । यसले गर्दा विश्वमा शान्ति स्थापनामा भएका प्रयासहरुमा चुनौती थपिदैँ गएको छ । 

संसारमा नै अहिले एकातिर शान्तिको चाहना छ अर्कातिर हिंसाको स्थिति छ । हिंसा र शान्ति दुवै शक्ति हुन् । हिंसाको शक्तिलाई कम गर्न र शान्तिको शक्तिलाई प्रबद्र्धन गर्न विश्व नै लागिपरेको अवस्था छ । तर सार्थक हुन सकिरहेको छैन । 

शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेको हो ।  समाजमा शान्ति स्थापना हुन सकेमा मात्र अन्तर्राष्ट्रिय शान्ति दिवसको सार्थकता हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?