काठमाडौं । सुनसरीको हरिनगरा–२, भुटाहामा भारतीय नम्बर प्लेटमा आएको हतियारधारी समूहले गोली हानेर स्थानीय शिक्षक खुर्सिद अन्सारीको हत्या ग–यो । प्रशासनले उक्त क्षेत्रमा प्रहरी परिचालन त ग–यो तर अपराधी शायद भारत पसिसकेको छ, त्यहाँ चाहेर पनि नेपाल प्रहरी जान सक्दैन । ठ्याक्कै यही घटना भारतमा घटेको हुन्थ्यो र नेपाली अपराधीले नाका पार गरेका हुन्थे भने कुरा अर्कै हुन्थ्यो ।
संयोग नै भन्नुपर्छ, कलाकार नवल खड्का खुला सिमानाको विरोध गर्दै आइरहेका छन् । उनले यतिबेला फिल्म ‘काँडेतार’ का लागि लोकेशन पनि खोजिरहेका छन् । लोकेशनकै सिलसिलामा उनी आजै (बिहीवार) भुताहा पुगेका थिए, जहाँ आज गोली चल्यो । अपराधीले एक शिक्षक/व्यवस्थापकको हत्या ग–यो र फरार भयो ।
भारतसँगको खुला सिमानाका कारण अपराधीलाई भाग्न सजिलो भयो । नेपाल प्रहरीको कच्चो सुरक्षा चेकिङलाई मध्यनजर गर्दै अपराधीले प्रहरी जवान शिव पौडेललाई नै गोली हान्यो र फरार भयो ।

यस्तै घटना घट्छन्, सिमानामा बस्ने नेपालीलाई निकै समस्या छ । बेलाबेलामा आवाज पनि उठिरहेका हुन्छन् ।
भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्ने आवाज उठाउँदै आइरहेका छन् कलाकार नवल खड्काले । संयोग कस्तो रह्यो भने, जुन मुद्दा उठाउँदै उनी लोकेशनका लागि सुनसरीको भुटाहा पुगेका थिए, ठ्याक्कै त्यही समयमा मोटरसाइकलमा आएका दुई जना अपराधीले गोली प्रहार गरी अन्सारीको हत्या गरे ।
‘हामी यहाँ फिल्मको लोकेशन हन्टिङ गर्दै आएका थियौँ, दुई जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आए र गोली हाने’, उनले लोकपथलाई भने, ‘पन्ध्र मिटर मात्र पर थियौँ होला, धन्न हामी बच्यौँ ।’
घटना घटेपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे । एकैछिनमा स्थानीय पनि जम्मा भए । कोही रुन थाले । कोही कराउन थाले । सर्वसाधारण आतंकित बने ।
‘मैले पनि पहिलेदेखि नै भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्छ भनेर आवाज उठाउँदै आएको छु, त्यतिबेला उनीहरुको दोस्रो सुपारी म हुन सक्थेँ’, खड्काले भने, ‘सिमानामा काँडेतार हुनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएकाले भारतले हामीलाई पनि राम्रो मान्दैन ।’
देशप्रेम र राष्ट्रियता झल्किने फिल्म बनाउनुपर्छ भन्ने उद्देश्यले आफूले ‘काँडेतार’ फिल्म निर्माण गर्न लागेको समेत नवलले बताए । यसअघि खड्काले फिल्म ‘भीमदत्त’ निर्माण गरेका थिए ।
अहिले खड्का भुटाहाबाट फर्केर इनरुवा आइपुगेका छन् । इनरुवाबाट नवलले भने, ‘यस्तै घटना घट्छन् भनेर हामीले काँडेतार हुनुपर्छ माग उठाउँदै आएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया