काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।
उनले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्दछु भनेकी छिन् ।
नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याएको बताइन् ।
चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै शुभकामना सन्देशमा उनले भनेकी छिन्, “बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा, गीतसङ्गीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।”
राष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक छ भनिन् ।
मुख्यमन्त्री पोखरेलको शुभकामना
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीले हिन्दू नारीको पर्व हरितालिका (तीज)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
तीज पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले राणाशासन, पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष यो अवसरमा स्मरण गर्दछु भनेका छन् ।
विगतमा तीज पर्वमा गीतमार्फत राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पु¥याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक भएको बताएका छन् ।
हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको उल्लेख गर्दै उनले सन्देशमा पारिवारिक र सामाजिक सामीप्यता बढ्दा मुलुकमा विश्वासको वातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया