इन्टरपोल प्रहरीको ‘डिफ्युजन नोटिस’ मा रहेका सविन प्रकाश बसुन्धराबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठगी मुद्दामा ‘डिफ्यूजन नोटिस’ जारी गरेका सिन्धुपाल्चोक मेलम्चीका ३३ वर्षीय सविन प्रकाश दनुवार सोमबार बिहान बसुन्धराबाट पक्राउ परेका छन् । सिंगापुर र थाइल्याण्ड लगायतका मुलुकमा लुकि बसेको सूचनाका आधारमा प्रहरीले उनी विरुद्ध यस्तो नोटिस जारी गरेको हो ।

सरकारको कृषि कोटामा बैदेशीक रोजगारीका लागि जापान पठाइ दिने भन्दै २८ जनाबाट करीव एककरोड ३१ लाख उठाइ फरार भएका अभियुक्त दनुवारको पक्राउका लागि इन्टरपोल प्रहरी मार्फत गत साउन १० गते । डिफ्यूजन नोटिस जारी गरेको थियो ।

अभियुक्त सविन प्रकाशको योजना अनुसार नुवाकोट दुप्चेश्वर घरभइ हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीय सरिता गुरुङ र उदयपुर त्रियुगा घरभइ हाल नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारले विमान सेक्युरिटी सर्भिस प्रा.लि. नामक नक्कली कम्पनी खडा गरी यतिको ठगी गरेको जानकारी प्रहरीले दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका अनुसार, विमान सेक्यूरिटी सर्भिस प्रा.लि. को सदस्य बताउने सरिता  र लालमणि यसअघि नै पक्राउ परिसेका छन् । फरार अवस्थामा रहेका सविन प्रकाशलाई बसुन्धराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको जनाएको छ ।

उनीहरुले प्रतिब्यक्ति सातलाखदेखि १२ लाखसम्म उठाएको पाइएको छ । २०७४ साल माघमा जिल्ला अदालत काठमाडौंले ठगी मुद्दा अन्तर्गत सरिता र लालमणिसंग १०÷१० लाख रुपियाँ धरौटि माग गरेको थियो । लालमणि सविन प्रकाशका साला हुन् ।

उनले सर्वसाधारणलाई ठगी गर्न चावहिलमा कार्यालय नै स्थापना गरि प्रति व्यक्ति एक लाख २१ हजार कमाइ हुने प्रलोभन देखाइ २८ जनालाई ठगी गरेको सिआइवी प्रवक्ता सानुराम भट्टराईले बताएका हुन् । उनीहरुले सर्वसाधारणको विश्वास जित्न जापानीज भाषाको कक्षा समेत सञ्चालन गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?