सत्र वर्षे कल्पना शर्मा फुरुङ्ग थिइ एसईई परीक्षा सकिएकोेमा ।
उच्च शिक्षाका लागि राजधानी आउने कुराले उसमा झनै उत्साह थपेको थियो ।
जन्मिएदेखि धनगढी बाहेक कुनै ठाउँ नदेखेकी कल्पनाका लागि काठमाडौं सपनाको शहर बनेको थियो ।
‘काठमाडौं पुग्नासाथ शुरुमा यी ठाउँहरु घुम्छु ।’ उसले एउटा लिस्ट नै तयार पारी ।
रानी पोखरी पनि उसले तयार पारेको लिस्टमा पर्यो । शायद तेस्रो नम्बरमा ।
कल्पनाले राजधानी टेकी ।
आफ्नो लिस्ट अनुसार पहिलो, दोस्रो गर्दै क्रमश ठाउँहरु घुम्दै जाँदा कल्पनालाई चित्रमाभन्दा ‘रियलमा’ सुन्दर लाग्यो काठमाडौं ।
स्कुल छँदा सामाजिक विषयमा लेखिएको एक अनुच्छेद र एउटा तस्वीरकै भरमा उसको मस्तिष्कले रानी पोखरीको सुन्दर चित्र सजाइसकेको थियो ।
चारपाटे पोखरी ।
हरियो, सङ्लो पानी ।
पोखरीको मुटुमा मुख्य मन्दिर ।
चारकुनामा स–साना चारवटा मन्दिर ।
दक्षिणतिर बडेमानको ढुङ्गाको हात्ती ।
हात्तीमाथि राजा प्रताप मल्ल र उनका दुई छोराको सवारी ।
कल्पनाले कल्पना गरेको रानी पोखरीको दृश्य यस्तै केही थियो ।
तर, उनको कल्पनाको दृश्य एकाएक धमिलियो जब उनले अहिलेको रानी पोखरी देखिन् ।
उजाड जमिन । जमिनमाथि हरिया लहलह उम्रिएका बञ्छो घाँस ।
मन्दिरको भग्नावशेष अनि भग्नावशेषमा थुप्रिएका केही सुकेका पात हेर्दा लाग्ने यो रानी पोखरी होइन कुनै ‘हन्टेड एरिया’ हो ।
कल्पनालाई रानी पोखरी रानी पोखरी नभएर झार पोखरी जस्तो लाग्यो ।
….
कल्पना एक प्रतिनिधि पात्र मात्रै हुन् ।
अहिलेको रानी पोखरी हेर्ने हर कोहीको मनमा यस्तै केही भावना उत्पन्न हुन सक्छ ।
पानीको साटो रानी पोखरीमा लहलह बारीमा पञ्छाउन बितेको बञ्छो घाँसका बाला झुलिरहेका छन् । त्यही घाँसका बीचमा बालगोपालेश्वर मन्दिरको भग्नावशेष कतै पुरिइसकेको छ ।
त्यसैले अहिले रानी पोखरी रानी पोखरी नभएर पशु चौपाया चर्ने झारपोखरी जस्तो देखिन्छ । १७ औं शताब्दीदेखिको इतिहास बोकेको रानी पोखरी अहिले आफैं इतिहास बनेको छ ।
एकादेशको कथा जस्तो ।
पुनर्निर्माणका योजनाहरु नबनेका होइनन् । समिति नछुट्याइएको पनि होइन । तर भूकम्प गएको १ हजार २ सय ९ दिन पूरा भइसक्दा पनि पुनर्निर्माण सुरु भएको छैन ।
कस्तो बनाउने ? विवादै विवाद
रानी पोखरी पुनर्निर्माणको कुरा चलिरहँदा महानगर र पुरातत्त्व विभागबीच ठूलै वैचारिक भिडन्त मच्चियो । महानगरीय भौतिक पूर्वाधार महाशाखा ले रानी पोखरीलाई कन्क्रिट बनाउने प्रस्ताव राख्यो ।
फेरि कुनै प्राकृतिक प्रकोपले रानी पोखरीलाई असर नपु¥याओस् भन्ने हिसाबले आधुनिक शैलीमा पुनर्निर्माण गर्ने विषयमा छलफल हुन थाल्यो ।
तिहारको भाई टिकामा मात्र खुल्ने रानी पोखरीलाई अन्य दिन पनि खोल्ने र परिसरमै म्युजिकल वाटर फाउन्टेन, बेन्च, कफीसप आदि खोलेर पार्कका रुपमा स्थापना गर्ने योजना बन्यो । यसोगर्दा आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने कुरामा महानगर विश्वस्त थियो ।
यद्यपी पुरातत्त्व विभागले यस योजनाप्रति चर्को विरोध जनायो ।
रानी पोखरीको मौलिकता नै उसको विशेषता भएकाले पुरानै शैलीमा यसलाई पुनस्थापित गर्नुपर्ने भनेर फरक मत आएपछि केही समय रानी पोखरी यही विवादमा मुछियो ।
राजनीतिक दलबिचको खिचातानीको कारण यो वा त्यो प्रविधी प्रयोग गरेर बनाउने भन्ने बारेमा मत बाँझिएपछि भूकम्पपछिको १ हजार २ सय ११ दिनसम्म पनि रानीपोखरीले रुप फेर्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया