शिवपुरीमा स्थानीय निर्वाचन : कांग्रेसबाट गाउँपालिका प्रमुखमा को-को छन् दाबेदार ?

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सरकारको घोषणाअनुसार देशभर स्थानीय निर्वाचनको चासो र चर्चा चल्न थालेको छ ।

विभिन्न राजनीतिक दलबाट आगामी स्थानीय निर्वाचनमा को उम्मेदवार बन्ने भन्ने चर्चा चियापसलदेखि चोक र चौतारोसम्म चल्नु स्वाभाविक हो ।

सोही क्रममा नुवाकोट जिल्लामा स्थानीय निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । त्यसै पनि राजनीतिकरूपमा सधैँ चर्चामा रहने नुवाकोटमा स्थानीय निर्वाचनको घोषणासँगै नेता–कार्यकर्ताहरू जिल्लामा केन्द्रित हुन थालेका छन् ।

निर्वाचनको सरगर्मी बढेसँगै जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तहको निर्वाचन तयारीस्वरूप कार्यक्रमहरू हुन थालेका छन् ।

अन्य राजनीतिक दलभन्दा भिन्न किसिमले ‘गाउँ–गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नारासहित नेपाली कांग्रेले निर्वाचनको तयारी थालेको छ । यसअघि पनि शिवपुरीमा स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा जित्नैपर्ने चुनौती देखिन्छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरू गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा देखिन थालेका छन् ।

आगामी स्थानीय निर्वाचनमा कांग्रेसबाट रामकृष्ण थापा, गोविन्द थपलिया, कविराज गुरुङ, शिव गुनी, रमेश कुमार पाठक र माधव भेटुवाललगायत आधा दर्जन आकांक्षीहरू बाहिर देखिएका छन् ।

यस्तो छ आकांक्षीहरूको संक्षिप्त परिचय

रामकृष्ण थापा

शिवपुरीका वर्तमान पालिकाप्रमुख हुन्, रामकृष्ण थापा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पुनः गाउँपालिकाको प्रमुखको आकांक्षीको रूपमा थापाको नाम अगाडि आएको छ । शिक्षण पेसाबाट राजनीतिमा आएका थापा बौद्धिक नेताका रूपमा चर्चित छन् ।

शिक्षक संघ नुवाकोटको अध्यक्ष समेत भएर काम गरेका थापा पार्टीको पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन् । जिल्लामा उनी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् । नेता थापाले आगामी स्थानीय निर्वाचनको मिति नजिकिएसँगै भेटघाट र छलफलाई तीव्रता दिएका छन् ।

गोविन्द थपलिया

शिवपुरीबाट आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, गोविन्द थपलिया । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका थपलिया राजनीतिसँगै समाजसेवामा सक्रिय छन् ।

साबिक क्षेत्र नं १ का क्षेत्रीय सभापति समेत बनेका थपलिया पार्टीको १४औँ महाधिवेशनमा महाधिवशेन प्रतिनिधिका प्रत्यासी रहेका थिए । विभिन्न संघसंस्थामार्फत जिल्लाका धेरै विद्यालयहरूमा शैक्षिक सामग्री वितरणमा सक्रिय रहने थपलिया आगामी स्थानीय तहको निर्वाचनमा पालिकाप्रमुखको आकांक्षीको रूपमा अघि देखिएका छन् ।

थपलिया जिल्लामा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

कविराज गुरुङ

नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाका अध्यक्ष हुन्, कविराज गुरुङ । जिल्लामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा गुरुङको नाम समेत अगाडि आएको छ ।

पूर्वमहाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङ पार्टीको पूर्वमहासमिति सदस्य हुन् । उनी जिल्लामा कांग्रेस पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिन्छन् । निर्वाचनको सरगर्मी बढेसँगै गुरुङले तयारी थालेका छन् ।

शिव गुनी

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा आएका कांग्रेस नेता शिव गुनी पनि आगामी स्थानीय निर्वाचनमा शिवपुरीबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा अगाडि आएका छन् ।

२०५३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय गुनी पार्टीको १४औँ महाविधेशनबाट नुवाकोट क्षेत्र नं १ बाट नेपाली कांग्रेसको निर्वाचित क्षेत्रीय सचिव हुन् ।

राजनीतिसँगै व्यवसायमा समेत आबद्ध छन् । साबिक सुनखानी गाविसको सचिव हुँदै उनले लामो समय नेपाल किसान संघ नुवाकोटको अध्यक्षको रूपमा काम गरेका छन् ।

प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिने नेता गुनी आगामी स्थानीय निर्वाचनमा शिवपुरीबाट मात्र नभई देशभरबाट युवाहरू नेतृत्वमा आउनुपर्नेमा जोड दिन्छन् । निर्वाचन नजिकिएसँगै गुनीले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

रमेश कुमार पाठक

आगामी स्थानीय तहको निर्वाचनमा शिवपुरीबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, रमेश कुमार पाठक । पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासी रहेका पाठक जिल्लामा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिन्छन् ।

जीपी कोइराला प्रतिष्ठान नुवाकोटको अध्यक्ष समेत रहेका पाठकले पनि निर्वाचनलक्षित छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

माधव भेटुवाल

शिवपुरी गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष हुन्, माधव भेटुवाल । आगामी स्थानीय तहको निर्वाचनमा शिवपुरीबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा भेटुवालको नाम पनि चर्चामा छ । गाउँमै बसेर काम गर्न रुचाउने उनी शिवपुरीको पुरानो राजनीतिज्ञ हुन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?