काठमाडौं । नेकपा एमालेले सरकारले ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै गिरिबन्धु टी–स्टेटसहित विवादित सबै प्रकरणको फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी उपनेता पद्या अर्यालले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै फाइल खोल्ने चेतावनी दिएको आरोप लगाइन् । उनले गिरिबन्धु टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न सरकारसँग माग गरिन् ।
अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै विवादित प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताइन् । उनले छानबिनबाट आरोप पुष्टि नभए आरोप लगाउने पक्षले नै त्यसको जिम्मेवारी लिनुपर्ने प्रश्न पनि उठाइन् ।
सरकारका जिम्मेवार व्यक्तिहरूले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन् । आरोप लगाउने र छानबिनपछि सत्य सावित नभए त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन तयार हुनुपर्ने उनको भनाइ थियो।
यस्तै, अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा व्यक्त अभिव्यक्तिको पनि आलोचना गरिन् । ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने भनाइले नेपालको राष्ट्रवादी अडान कमजोर बनाएको उनको आरोप छ ।
उनले उक्त अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपाली भू–भागसम्बन्धी नेपालको दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको बताइन् । भारतसँगको सम्बन्ध सुधार गर्ने क्रममा राष्ट्रिय हित र सार्वभौमिकतासम्बन्धी विषयमा स्पष्ट अडान आवश्यक रहेको उनले उल्लेख गरिन् ।
अर्यालले सीमा क्षेत्रका नेपालीहरू राष्ट्रिय स्वाभिमान र भू–भागको रक्षाका लागि संघर्ष गरिरहेको अवस्थामा यस्ता अभिव्यक्तिले अन्योल सिर्जना गरेको भन्दै सरकारसँग स्पष्ट जवाफ मागिन् ।
उनले मन्त्रीहरूका सार्वजनिक अभिव्यक्ति राष्ट्रको नीति र कूटनीतिक धारणासँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने किसिमका अभिव्यक्तिबाट बच्न आवश्यक रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया