प्रतिशोध होइन, स्वच्छ प्रतिस्पर्धाले उन्नत समाज बन्छ : गगन थापा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिका–८ ले सामाजिक सेवामा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकाससँगै लोकतन्त्रको जग मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताए ।

उनले भने, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो निर्माण गर्न योगदान गरौँ ।’

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा ले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुख–दुःखको साझा केन्द्र हुनुपर्ने धारणा व्यक्त गरे । उनले सक्रिय जीवनपछि घरमै सीमित भएका व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गरेर वडाले सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए ।

वडाध्यक्ष तथा काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले समाजको वास्तविक स्वरूप विभिन्न क्षेत्रका सर्जक, कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक, उद्यमी तथा ज्येष्ठ नागरिकहरूको योगदानबाट झल्किने उल्लेख गरे । उनले प्रतिशोधभन्दा स्वच्छ प्रतिस्पर्धामार्फत उन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, संस्कृतिकर्मी, समाजसेवी तथा कला–साहित्य क्षेत्रका गरी करिब ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ज्ञानेन्द्रराज वैद्य, कविराज नेगी, अदिप्शा वैद्य, संस्कृतिविद् मुकुन्द वैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, राजेश मानन्धर, अजित गौतम, सरिता मिश्रलगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?