काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई संस्थागत गर्न नयाँ राष्ट्रवादी पार्टी गठनको तयारी भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै उनले उक्त नयाँ राजनीतिक शक्तिले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको एजेण्डालाई मुख्य आधार बनाउने स्पष्ट पारे ।
नेता राणाका अनुसार नयाँ पार्टीको नेतृत्वमा राजा र हिन्दु राष्ट्रको एजेण्डालाई देशव्यापी रूपमा स्थापित गर्न सक्रिय रहेका दुर्गा प्रसाई रहने छन् । उनले प्रसाईलाई निमुखा जनताको नेता र देशव्यापी पहिचान बनाइसकेको ब्रान्ड का रूपमा प्रस्तुत गर्दै पार्टी नेतृत्वमा उनको भूमिका रहने बताएका छन् ।
राणाले भने, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ। सबै राष्ट्रवादी, राजावादी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने आवश्यकता छ। यही उद्देश्यका साथ हामीले दुर्गा प्रसाईलाई अघि सारेर नयाँ राजनीतिक अभियान अघि बढाइरहेका छौँ ।
उनका अनुसार आगामी दुई–तीन महिनाभित्र नयाँ पार्टीले देशव्यापी रूपमा एक बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य लिएको छ ।
यसैबीच, उनले राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई इमान्दारितापूर्वक अघि नबढाएकाले आफूहरू नयाँ राजनीतिक संरचनातर्फ जान बाध्य भएको दाबी समेत गरे ।
नयाँ पार्टी गठनको तयारीसँगै राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई केन्द्रमा राखेर वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियान तीव्र बनाइएको नेताहरूको भनाइ छ ।
यद्यपि नयाँ गठन हुन लागेको पार्टीमा डा. धवलशमशेर राणाको औपचारिक जिम्मेवारी सार्वजनिक गरिएको छैन । तर पार्टीका एक नेताका अनुसार उनलाई पार्टीको वरिष्ठ नेताको भूमिकामा राखिने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया