यस्तो छ नवनियुक्त मुख्यमन्त्री पोखरेलको राजनीतिक इतिहास

लोकपथ
1.3k
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकीकी प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई नेपालको संविधानको धारा १६८(५) बमोजिम नियुक्त गरेकी हुन् ।

बिहीवार नेकपा एमालेका तर्फबाट यस अघि मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि नेपाली मुख्यमन्त्री बनेका हुन् । उनी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

२०४८ सालदेखि निरन्तर १९ वर्ष नवलपरासी कांग्रेसको सभापति बनेका पोखरेल कांग्रेसभित्र निष्ठावान नेताका रुपमा चिनिन्छन् ।

उनको राजनीतिक इतिहास लामो छ । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा ५–६ पटक जेलनेल समेत भोगेका छन् । २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । उनी कांग्रेसमा आफ्ना बुवाको प्रेरणाबाट सक्रिय भएका हुन् । उनका पिता गोवद्र्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए । उनको परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा बसोबास गर्न थालेको हो ।

नेपाली २०७४ को प्रदेश सभा निर्वाचनमा नवलपुर (पूर्वी नवलपरासी) १ को ‘क’बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता समेत हुन् । उनी कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका थिए । प्रजातन्त्र बहालीका लागि उनले पटक–पटक जेल जीवन बिताए। काभ्रे र तनहुँमा उनले शिक्षक भएर काम पनि गरेका थिए। शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले उनको शिक्षक पेसा खोसेको थियो ।

२०२९ देखि २०३६ सम्म उनले अध्यापन गरेका थिए। निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलन २०४६ मा उनी जेल परेका थिए । उनी २०४८ सालको निर्वाचनमा नवलपरासी–४ बाट उम्मेदवार बनेका थिए। यसैगरी, २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं. ३ प्रत्यक्षतर्फबाट उम्मेदवार थिए। तर उनी पराजित भएका थिए । ७१ वर्षीय नेपाली पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?