नेपाल आएका विदेशी भीभीआइपीहरू (भिडियो रिपोर्ट सहित)

रामजी बलामी/काठमाडौँ- यो वर्ष कोभिड महामारी र लकडाउनका बाबजूत पनि विभिन्न देशका उच्चपदस्थ ब्यक्तिहरुले नेपाल भ्रमण गरे । विशेषगरी भारत र चीनबाट भएका यस्ता भ्रमणले नेपाली राजनीति तरङ्गीत बन्यो । चाहे ती भारतीय गुप्तचर संस्था रअ का प्रमुख हुन वा चीनका रक्षामन्त्री । दुवै देशका यी उच्चपदस्थ भ्रमणले यो बर्ष नेपाली राजनीति निकै तात्यो । कतिपयको टिप्पणी पनि छ, यीनै ब्यक्तिहरुको भ्रमणले नेपाली राजनीतिले आफ्नो दिशा बदल्न पुग्यो ।

कोही नेपाली राजनीतिको पछिल्लो अवस्था बुझ्न आए भने कोही हिमाल आरोहणका लागि पनि नेपाल आइपुगे, यो बर्ष । कतार र बहराइनका राजकुमारहरु आ–आफ्नो जम्बो टोलीसहित अलग अलग हिमाल चढ्न यसै बर्ष नेपाली भूमि टेके ।

सामन्त कुमार गोयल

वर्ष ०७७ मा नेपाल आएका भारतका प्रभावशाली ब्यक्ति हुन्, भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त कुमार गोयल । छिमेकी भारतसँग संवादहीनता बढिरहेका बेला रअ प्रमुख गोयल गत ५ कात्तिकमा नेपाल आएका थिए।

भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं उत्रिएका गोयलले झण्डै २१ घण्टा काठमाडौंमा बिताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाली राजनीतिका महत्वपूर्ण ब्यक्तिहरुसँग भेटघाट गरे । कति भेटघाट गोप्य राखिए,कति भेटघाट सार्वजनिक गरिए ।

मनोज मुकुन्द नरवणे

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे १९ कात्तिकमा नेपाल भ्रमणमा आए । भारतीय सेनाध्यक्ष नरवणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका थिए । उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुन् ।

नरवणेले प्रधानमन्त्री केपी ओलीसँग समेत भेटवार्ता गरेका थिए। जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गरेका थिए । यी तीनै भारतीय प्रधानसेनापति हुन् जसले नेपालले जारी गरेको नयाँ नक्काका सम्बनधमा भारतमा आयोजित एक सार्वजनिक कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेका थिए । उनको भनाइ थियो,‘चीनको उक्साहटमा नेपालले भारतीय भुूमिसहितको नक्सा जारी गर्यो ।’

हर्षवर्धन श्रृंगला

यो वर्ष भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले पनि नेपालको एकदिने भ्रमण गरे । श्रृंगला गत ११ मंसिरमा नेपाल आएका थिए । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका श्रृंगला नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेतासँग भेटवार्ता गरेका थिए । नेपाल भ्रमणका क्रममा उनी गोरखा समेत पुगेका थिए। श्रृंगला उत्तरपूर्वी भारतका वासिन्दा हुन् । उनका आमा नेपाली भाषी हुन् । भ्रमणका क्रममा उनले नेपाली भाषा बोलेको विषयले चर्चा पाएको थियो ।

वेई फेंग्ह

वर्ष ०७७ मा नेपाल आउने अर्का भीआइपी हुन्, चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेंग्हे । उनी १४ मंसिरमा नेपाल आएका थिए । २१ सदस्यीय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो । त्यसलगत्तै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । फेंग्हेले नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटवार्तापछि वेईले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए ।

उनी एयर चाइनाको विमानमार्फत एकदिने औपचारिक भ्रमण पूरा गरी सोही दिन स्वदेश फर्किएका थिए ।

शेख मोहम्मद

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले पनि नेपाल भ्रमण गरे,यो बर्ष । राजकुमार अब्दुल्लाह १३ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ हजार ८ सय १४ मीटर अग्लो आमादब्लम हिमाल आरोहणका लागि नेपाल आएका थिए । उनीहरुको टोलीले २६ कात्तिक बिहान ११ः२० बजे आमादब्लम हिमालको सफल आरोहण गरेको थियो।

राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए । यो टोलीलाई पर्यटनमन्त्री योगेश भट्टराइले सम्मान गरेका थिए ।

सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगरमाथा आरोहण गर्न पुगेका उनी तीन पटक सगरमाथा आधार शिविर पुगेका थिए।

सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्यीय टोली अहिले नेपालमै छन् । उनी सगरमाथाको आरोहणका लागि २ चैतमा नेपाल आएका थिए ।

उनीहरु बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट नेपाल आइपुगेका हुन् । बहराइनस्थित नेपाली दुतावासका अनुसार टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् । उनीहरु काठमाडौंबाट गोर्खा जाने र त्यहाँ केही दिन बिताएर सगरमाथा आरोहणमा निस्किने कार्यक्रम छ । उक्त टोली नेपालमा ८० दिन रहनेछ ।

राजकुमार खलिफाको टोलीले यसै वर्ष ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको थियो । आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्याण्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी थिए ।

यस्तै राजकुमारसहितको टोलीले १७ असोजमा सोलुखुम्बुको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेको थियो।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?