सीईओ खुञ्जेलीको पाँच वर्षे योजनाः टप ‘फाइभ’मा पुग्दैछ मेगा बैंक

काठमाडौं । अनुपमा खुञ्जेली जो बैंकिङ क्षेत्रकी अब्बल पात्र हुन् । उनको हातमा जसै मेगा बैंकको नेतृत्व (प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ) आयो तब उनलाई खुसी भन्दा बढी चुनौतीपूर्ण लाग्यो ।

‘अब कसरी बैंकलाई सफल बनाउने ?’ भन्ने कुराले सोचमग्न बनायो । विश्वास गरेर नेतृत्व दिएपछि सफलतापूर्वक त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने सीईओ खुञ्जेलीको मान्यता छ । उनी नेपाली बैंकिङ क्षेत्रमा एक मात्रै महिला सीईओ हुन् । उनी चाहान्छिन् आफूले गरेको कामबाट बैंकिङ क्षेत्रमा काम गर्ने भावी पिडी(महिला)लाई पनि प्रेरणा मिलोस् । त्यसैले उनले मेगाा बैंकको नेतृत्व सफलतापूर्वक हाँकिरहेकी छिन् ।

यतिबेला बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । जसमा मेगाले सन्तोषजनक प्रगति गरेको छ । मेगाले आगामी योजना अन्तर्गत पञ्च वर्षीय योजना बनाएको छ जसमा मेगाा बैंक आगामी पाँच वर्षमा टप ‘फाइभ’मा पुग्नेछ । ‘हाम्रो योजना अनुसार आगामी पाँच वर्षमा मेगा टप ५ मा पुग्छ,’ सीईओ खुञ्जेलीले भनिन् । अबको बैंकिङ पहिलेको जस्तै गरी जाँदा प्रतिस्पर्धामा पछि पर्न सकिने भन्दै फरक योजनाका साथ मेगा अगाडि बढ्ने उनको भनाइ छ । ‘गरिरहेको काम भन्दा अलि फरक ढंगले गरिएन भने छलाङ मार्न गाह्रो छ,’ सीईओ खुञ्जेलीले भनिन् ।

मेगाले डिजिटल क्षमता बढाउँदै १ हजार ८ सय ४९ कर्मचारी र २ सय ६ शाखाबाट मुलुकभरि बैंकिङ सेवा दिइरहेको छ । यसैबीच मेगाले डिजिटल कारोबारलाई पछ्याउँदै क्यूआर कोडमार्फत् टेम्पोमा भाडावापत्को रकम भुक्तानी गर्न सकिने कार्यको शुरुवात पनि गरेको छ । त्यति मात्रै होइन मेगाले बैंक व्यवस्थापनमा ५० प्रतिशत महिलाको उपस्थिति राखेको छ । काम गर्ने अवसर दिने हो भने महिलाले उत्कृष्ट योगदान गर्न सक्ने सीईओ खुञ्जेलीको तर्क छ ।

गत वर्षको फागुनदेखि देखा परेको कोरोना भाइरस ‘कोभिड १९’का कारण अधिकांश क्षेत्र ठप्प रहे । अत्यावश्यक क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि घरघरबाटै उपलब्ध गराइएको थियो । त्यसैले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै कसरी बैंकिङ सेवा दिन सकिन्छ भन्नेतर्फ मेगाले काम गरिरहेको सीईओ खुञ्जेली बताउँछिन् । ‘वर्क फ्रम होम’लाई सिस्टममा ल्याउन खोजिरहेका छौँ,’ उनले भनिन् ।

यस्तो छ बैंकको प्रगति

मेगाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको खुञ्जेलीको दाबी छ । मेगा यस अवधिमा निक्षेप संकलनमा १३ औं स्थान, कर्जा लगानीमा नवौं स्थान र नाफामा ११ औं स्थानमा रहेको छ । यस हिसाबले हेर्ने हो भने पनि मेगाको प्रगतिलाई सन्तोषजनक मान्न सकिन्छ ।

मेगाले पुस मसान्तसम्म ३७.२८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म बैंकले ९५ करोड २ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले पुस मसान्तसम्म १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । बैंकको जगेडा कोष रकम ०.७१ प्रतिशतले बढेर २ अर्ब ९४ करोड ७२ लाख २६ हजार कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ६८ करोड १३ लाख २० हजार रुपैयाँ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ ।

यस अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार कर्जा लगानी गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १७.९७ र प्रतिशेयर नेटवर्थ १३१.६४ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?