मन्त्रीस्तरीय बैठकअघि भारतले भन्यो- ‘संयुक्त आयोग र सीमा विषय फरक’

नयाँदिल्ली । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ ।

त्यसमाथि नेपालमा एक्कासि भएको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत राजनीतिक घटनाक्रममा दिल्लीलाई समेत जोडेर हेरिएकाले पनि यो भ्रमण थप चासोको विषय बनेको छ ।

आयोगको छैटौं बैठक शुक्रबार बिहान साढे ११ बजे हैदरावाद हाउसमा बस्दै छ । बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल गर्ने तयारी छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना छ । तर भारतले आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्ने प्रस्ट पारेको छ ।

भारतको विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमाका सम्बन्धमा भारतको पुरानो अडान कायम रहेको तथा आयोगको बैठक र सीमा विषय फरक भएको बताए । ‘संयुक्त आयोग एउटा महत्त्वपूर्ण संयन्त्र हो । यसले द्विपक्षीय साझेदारीका सम्पूर्ण मुद्दामा उच्चस्तरमा समीक्षा गर्ने अवसर प्रदान गर्छ,’ उनले भने ।

द्विपक्षीय एजेन्डा तय गर्न संलग्न एक नेपाली उच्च अधिकारीले भारतले नचाहे पनि सीमासम्बन्धी विषयलाई छलफलमा ल्याउने बताए । ‘हामीलाई बिझेको विषय सीमा नै हो र त्यसलाई हामी उठाउँछौं । भारतले कस्तो प्रतिक्रिया दिन्छ, त्यो उसको कुरा हो,’ ती अधिकारीले भने । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि दुई देशबीचका ‘सबै अप्ठ्यारा र सप्ठ्यारा’ विषयमा छलफल हुने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?