काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको सङ्कट समाधानको सूत्र खोज्ने भन्दै डाकिएको स्थायी कमिटीको बैठक आज बुधबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गत आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएका कारण आजका लागि बैठक डाकिएको हो ।
पार्टीमा ६ महिनादेखि चुलिएको विवाद समाधान गर्न सचिवालय बैठक असफल भएसँगै प्रचण्डपक्षको पहलमा स्थायी कमिटी बैठक डाकिएको थियो ।
आफ्ना दुई अध्यक्षको मनमुटाव मिलाएर पार्टीका थाँति कामकारबाही अगाडी लैजानुपर्ने दबाब र फूटको संघारमा पुगेको सङ्कट समाधानको चुनौति स्थायी कमिटीका अगाडी छ ।
सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठक बालुवाटारमा नै बस्नेछ ।
आयो अर्को मोड !
पार्टीका दुई अध्यक्ष (प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) को राजनीतिक प्रतिवेदनमा एक अर्काको दोष कोट्याउने होडबाजी चलिरहेको बेला हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश जारी गरेपछि फेरि ओलीविरुद्ध पूर्व माओवादी नेताहरुले घेराबन्दी शुरु गरेका छन् ।
अध्यादेश फिर्ताको माग गर्दै चर्को विरोधमा उत्रिएका प्रचण्डसहितका सचिवालय सदस्य, स्थायी कमिटी र केन्द्रिय कमिटी समेतका नेताहरुले आजको बैठकलाई महत्वपूर्ण हुनसक्ने बताएका छन् । यसअर्थ पनि स्थायी कमिटी बैठकप्रति धेरैको चासो छ।
ओलीले संबैधानिक आयोगहरुमा नियुक्त गर्नुपर्ने प्रस्ताव हिजो साँझ ५ बजे बसेको बैठकमा ‘ईन्डोर्स’ गरेका थिए । लोकपथलाई प्राप्त जानकारी अनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा सहितको अर्को बैठक तत्काल बसेर रिक्त पदहरुमा नियुक्ति हुनेछ ।
यसैले पनि संवैधानिक परिषद् बैठकको लागि अड्को थापेका पूर्व माओवादी नेताहरु हिजो (मंगलबार) दिनभर खुमलटारमा गुटगत भेलामा थिए ।
स्रोतका अनुसार ओली ‘ब्याक’ हुने मनस्थितीमा छैनन् । त्यसैले विज्ञप्ति निकालेर अध्यादेशविरुद्ध बोलेतापनि प्रचण्ड केही रक्षात्मक बनेका छन् ।
उनी आज (बुधबार) स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ओली प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । (file : photo)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया