काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विवादमा रुमलिएको छ। २०७५ साल जेठ ३ गते पार्टी एकता गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको संघारमा पुग्नुको मुख्य कारण पार्टीका दुई अध्यक्षबीच पूर्ववत् सहमति पालना नहुनु नै हो ।
पूर्व एमाले र पूर्व माओवादीबीच २०७५ साल जेठ ३ गते पार्टी एकता भएयता पार्टीको समयमा आधा-आधा समय दुई अध्यक्ष आलोपालो गरी प्रधानमन्त्री बन्ने सहमति भएको भनि एक टेलिभिजन कार्यक्रममा प्रचण्डले बोलेपछि एकपटक तातेको माहोल, केहि समयपछि फेरि ५ वर्ष नै प्रधानमन्त्री तथा सत्तारुढ पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै चलाउने भन्ने आशय बाहिरीएपछि थामथुम भयो ।
गत वर्ष फागुनभन्दा अगाडि पनि पार्टीमा विवादहरू नदेखिएका होईनन् । तर ति पार्टी एकता प्रक्रियालाई लिएर थियो । केहि समयमै थामथुम भयो । तर फागुनपछिको सत्तारुढ पार्टीको विवादले राष्ट्रिय राजनीतिलाई नै नकारात्मक प्रभाव पारेको छ । कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणले देश थिलोथिलो भएका बेला पनि सत्तारुढ पार्टी जनताप्रति उत्तरदायी हुन नसकेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो पटक पार्टीका दुई अध्यक्षबीचको टकराव सतहमा आएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब सँगै अगाडी बढ्न नसक्ने भनी अभिव्यक्ति दिएपछि यो विवाद सतहमा आएको हो । एक अध्यक्षले पार्टी चलाउने र अर्को अध्यक्षले सरकार चलाउने सहमति प्रचण्डले पालना नगरेको र पूर्व माओवादीहरुबीच गुटगत भेला गरेर अप्ठेरो स्थिती ल्याईरहेको ओली समूहका नेताहरु बताउँछन् ।
यतिबेला ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग-अलग हुन प्रस्ताव गरेको विषय बाहिर आएपछि पार्टी फूटको संकेत देखिएको भन्दै पूर्व माओवादी सशंकित बनेको हो ।
छलफलका लागि बालुवाटार पुगेका पार्टी प्रचण्डलाई अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, एजेण्डा खोई ? बैठक बसेर के गर्ने ? भनेपछि प्रचण्ड हतासिएका हुन् ।
मिडियामा हल्ला आएजस्तौ बैठक नै गर्दिन वा मान्दिन भनेका होईनन् । ओली निकट स्रोत बताउँछ ।
बैठक किन बस्न काम छैन भन्दै प्रचण्डले गरेको प्रश्नमा बैठकको निर्णय मान्दै मान्दिन, तपाईहरुले बहुमतले निर्णय गरेर हुन्छ केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस् तर बहुमतले गरेको निर्णय म मान्दिन भनेका थिए । ओलीले झोक्किँदै तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ, यति भन्दाभन्दै पनि तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु, त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलग-अलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर जानकारी गराएपछि प्रचण्ड बाहिरीएका थिए । त्यसपछि हिजो १६ गते गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) सहित ६ जना पूर्व माओवादीका नेताहरुबीच छलफल भयो । पूर्व माओवादीका नेताहरुको भनाई छ, ‘यो एकता ख्याल ख्यालमा फूट्न नदिनको लागि तथा विधि र पद्धतिको पालना गर्नका लागि हामी दुई अध्यक्षबीच सहमति गराउने कोशिसमा छौँ ।’ पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भन्छन्, ‘प्रचण्डजी पनि एकता गरेरै जाने पक्षमा हुनुहुन्छ ।’
पछिल्लोपटक मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, पर्सामा भएको नेकपाका कार्यकर्ताको हत्या, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको भेटघाटले अध्यक्षद्वयबीच विवाद चुलिएको थियो । तर ओलीनिकट एक सचिवालय सदस्य भन्छन्, पछिल्लोपटकको स्थायी कमिटी बैठकपछि पार्टीको कामको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिईएको छ । सबैले आ – आफ्नो जिम्मेवारी पूरा गर्नुपर्यो । प्रचण्डले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्ने र बालुवाटारमा च्याँखे थापेर बस्नुभएन ।
पार्टी फूटको अवस्थामा पुग्यो भनिरहेकै बेला एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन् ।
ललितपुरको एक कार्यक्रमपछि आइतवार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे । उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो ।’ उनले भनेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार पार्टी चलाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई सुम्पेका ओलीलाई पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा प्रचण्डको दाबी कायम रहेको र अनेकन बखेडा झिकिरहने प्रचण्ड प्रवृतिबाट उनी सन्तुष्ट छैनन् ।
उता प्रचण्ड निकट स्रोत भन्छ, प्रधानमन्त्री पद मागिएको छैन । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णय विपरीत कार्य गर्न थालेकोले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको हो ।
अब प्रधानमन्त्रीले सल्लाहमा नै छुटीऔँ भनेको अवस्थामा प्रचण्डको मुड के हो त ? हामीले प्रचण्ड निकट स्रोतसँग प्रश्न राख्दा ख्याल-ख्यालमा नै एकता फूटाउने पक्षमा प्रचण्ड नरहेको बुझियो । यसैले उनले गुटगत र आफ्ना खेमाका नेताहरुसँगको छलफल तीव्र पारेका छन् ।
छलफलकै क्रममा ओलीसँगको भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैँले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद झाँगिएको हो ।
लोकपथलाई प्राप्त जानकारी अनुसार दुवै अध्यक्ष सहमतिका लागि इच्छुक छैनन् । विशेषत: ओली प्रचण्डको कुरा सुन्नै चाहँदैनन् । यद्यपी यसअघि छलफलको क्रममा अब सँगै जान सक्ने अवस्था नरहेको भनेका प्रचण्ड भने केहि लचिलो भएका छन् । तर पार्टीका अन्य नेताहरू भने दुई अध्यक्षलाई मिलाउने कसरतमा लागेका छन् ।
यतिबेला पूर्व एमाले नेताहरु पूर्व माओवादी आफ्नै कारणले अप्ठेरोमा परेको आशय सामाजिक सञ्जालमार्फत् राखिरहेका छन् । पार्टी एकता जोगाऔँ भन्ने शब्दावली पनि प्रयोग गरेर उनीहरु पूर्व माओवादीलाई ”दुख पाईस् मंगले आफ्नै ढंगले” भाषा प्रयोग गरिरहेका छन् ।
किन बेलाबेलामा बखेडा झिकिरहन्छन् प्रचण्ड ?
राजनीतिक विश्लेषक भन्छन्, पार्टीको अध्यक्ष हुने लालसाका कारण उनी यसो गर्छन् । यदि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद छोडेको खण्डमा माधव कुमार नेपाल र प्रचण्डबीच प्रतिष्पर्धा चल्नेछ ।
त्यसो हुँदा पूर्व एमाले गुट ठूलो भएका कारण स्वभाविक जित माधव कुमार नेपालको पोल्टामा पर्नेछ । केहि पूर्व माओवादीका नेताहरु समेत आफ्नो गुटका नेतालाई मत दिने पक्षमा छैनन् ।
त्यसो हुँदा अहिले ओलीलाई चिढ्याउन र अनेकन प्रपञ्च रचेका प्रचण्ड माधव कुमार नेपाललाई विभिन्न अर्थमा प्रयोग गरिरहेता पनि पछि ओलीले छोडेको खण्डमा यी दुईबिच नै सबैभन्दा ठूलो टसल पदार्पण हुनेमा दुईमत छैन । त्यसैले प्रचण्ड जुनकुनै हालतमा ओलीलाई गलाएर, फकाएर, धम्क्याएर, सहमति वा विमत्ति जे गरेर भएपनि पावरमा छु भन्ने भ्रम छर्न चाहन्छन् ।
प्रचण्ड खेमाकै एक नेकपा नेता प्रचण्डको कार्यशैलीप्रति आपत्ति जनाउँदै भन्छन्, “माधव कुमार नेपाल पनि प्रचण्डलाई उचालेरै भएपनि ओलीलाई तर्साउने दाउमा छन् । आमागी निर्वाचनलाई आफ्नो अन्तिम परीक्षाको कसीमा राखेका कारण पनि यि नेताहरुबीच दाउपेचको राजनीति झनै पेचिलो बन्दै गएको हो ।”
अर्का राजनीतिक विश्लेषक भन्छन्, “खासमा नेता नेपाल र प्रचण्ड पनि अध्यक्ष ओलीको पद ताकिरहेका छन् । तर बाहिर मिडिया र सामाजिक सञ्जालमा भने अध्यादेश, रअ, राजदूत, मन्त्रिमण्डल, पर्सामा कार्यकर्ताबीच भएको झडपलगायतका प्रसंग ल्याईएको छ । तर यो आफैँमा हाँस्यास्पद छ । पार्टीमा यो कुनै विवाद नै छैन । उनले प्रतिप्रश्न गर्दै थपे, ‘प्रचण्डको बुहारी भएकै कारण खानेपानीमन्त्री विना मगर मन्त्रिबाट हटेकी छैनन् । कुन ‘पर्फमेन्स’को आधारमा मन्त्रिण्डल हेरफेर हुँदा पनि उनी परिवर्तन हुँदिनन् त ?अचम्म छैन ? अनि प्रचण्ड निकट नेताहरु स्थायी कमिटी बैठकको निर्णय ओलीले मानेनन् भनिरहेका छन् । कुन चाहिँ निर्णय मानेनन् ?”
ओली निकट स्रोतका अनुसार ओली स्पष्ट कार्यदिशासहित आफ्नो छुट्टै कार्यशैलीमा सरकार चलाउन चाहन्छन्। उनलाई हस्तक्षेप मन पर्दैन त्यो साँचो हो । तर प्रचण्ड प्रधानमन्त्रीले हरेक निर्णय आफूअनुकुल गरुन् भन्ने चाहना राख्छन् यसैका कारण पार्टीमा रडाँको मच्चिरहन्छ । प्रधानमन्त्रीलाई अनेकन बखेडामा व्यस्त गराएर सरकार महामारीमा निदायो भनेर पूर्व माओवादी खेमाले सामाजिक सञ्जाल र मिडियामा हौवा चलाएका छन् । उनले थपे, जनताकहाँ ‘डेप्थ’ कुरा नै पुग्न सकेको छैन ।
ओलीले सचिवालय बैठक नमानेकै हुन् त ?
प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक किन बोलाउने भनेर प्रतिप्रश्न गरेको विषयले पनि खबरहरुमा प्रकाशित प्रसारित भए । तर ओलीनिकट स्रोतका अनुसार सचिवालय बैठकमा पूर्णत: प्रधानमन्त्रीको कार्यशैली, उनका निर्णयबारे हस्तक्षेपकारी रुपमा मात्रै छलफल चलाईन्छ । त्यसैले पनि उनी सचिवालयको बैठकको कारण स्पष्ट नभई बैठक गर्नुको औचित्य नभएको बताउँछन् । ओलीले यसअघि पनि प्रचण्डलाई बैठकको ‘एजेण्डा’ के हो भनेर प्रश्न गरेका थिए । सचिवालय बैठकमा कोरोना भाइरस विकास निर्माण, सरकारको कामकारबाही कमीकमजोरीबारे कुनै पनि बैठकमा छलफल भएको छैन । पद र पावरको लालचामा नयाँ नयाँ विषय उचाल्ने विषयान्तर गर्ने कामको लागि सचिवालय बैठक किन डाक्नुपर्यो भन्ने उनको आशय हो ।
यो पनि पढ्नुहोस् :
प्रचण्डकै कारण यो अवस्था आएको हो : ईश्वर पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया