दिउँसो सुत्ने बानी छ ? सावधान ! हुनसक्छ नसोचेको नोक्सानी

काठमाडौं – के तपाई दिउँसो सुत्ने गर्नुहुन्छ ? यदि त्यसो हो भने अब सावधान हुनुपर्छ । व्यस्त जीवनशैली, खाना खानेबित्तिकै हुने आलस्यताले धेरैलाई दिउँसो ओच्छानमा गएर पल्टन वा ‘एक निन्द्रा लिन’ मन लाग्छ । तर चिकित्सक भन्छन् – ‘बिरामी वा अस्वस्थ्य नभईकनै दिउँसो सुत्ने बानी छ भने हटाउनूस् ।’

हो, दिउँसो सुत्ने बानीले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन सक्ने भएकोले चिकित्सकले यस्तो सुझाव दिएका हुन् ।

विभिन्न समयमा भएका शोधहरुमा उल्लेख गरिएअनुसार दिउँसो सुत्ने बानीले बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।

दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै ३ लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन ।

रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।

यद्यपी ग्रिसमा भएको एक नयाँ अनुसन्धानको अनुसार दिउँसो सुत्ने बानीले उच्च रक्तचाप भएको मानिसहरुलाई फाईदा देखिएको छ। तर थोरै बेर प्राकृतिक हावा लाग्ने स्थानमा सुत्नुपर्छ । त्यस्तै खाजा खाने समयमा १० देखि १५ मिनेट छोटो समयको लागि ‘पावर न्याप’ लिँदा स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

मोटोपनको लागि अझ खतरनाक :
यदी शरीरलाई निरन्तर कम निद्रा भयो भने ‘कोर्टिसोल’ नामक तनाव बढाउने हर्मोन र इन्सुलिन नामक हर्मोन बढी उत्पादन हुन्छ।

इन्सुलिन बढी मात्रामा उत्पादन हुँदा शरीरको वजन बढ्ने र मधुमेहको पनि डर हुन्छ। निद्रा कम हुँदा लेप्टिन नामको हर्मोन कम र घ्रेलिन नामक हर्मोन बढी उत्पादन हुन्छ। लेप्टिनले भोक नियन्त्रण गर्छ भने घ्रेलिनले भोक लगाउँछ।

त्यसैले निद्रा कम पर्दा भोक बढी लाग्छ र मोटोपन बढ्ने सम्भावना बढी हुन्छ। यदी निन्द्रामा गडबडी भयो भने मुडमा नकारात्मक प्रभाव पर्न जान्छ । यसले पनि तपाईको सोच्ने क्षमतामा असर पुर्‍याउँदछ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?