काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

लोकपथ
104
Shares

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो ।

देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार आज विहान काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जुन मानव स्वास्थ्यका लागि हानीकारक अवस्था हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८६ रहेको छ । तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्ली छ । दिल्लीमा प्रदूषणको तह १७३ रहेको छ ।

मौषसविद् विनोद पोखरेल नेपालको आकाशमा प्रदूषणको बाक्लो लेयर देखिएको बताउँछन् । ‘काठमाडौंको प्रदूषण फेरि एकपटक उत्कर्षमा पुगेको देखिन्छ । स्याटेलाइट इमेजमा हेर्दा नेपालको आकाशमा प्रदूषणको एउटा लेयर नै बसेको देखिन्छ,’ उनले भने ।

उनका अनुसार शुक्रबार र शनिबार तापक्रम यो वर्षकै उच्च हुन सक्ने सम्भावना देखिएको छ भने तापक्रम उच्च हुँदा आगलागीको समेत उच्च जोखिम बढ्नेछ । तत्कालै पानी पर्ने सम्भावना समेत नदेखिएकाले प्रदूषणको मात्रा आइतबारसम्म पनि रहन सक्ने उनको भनाइ छ ।

आगलागीका कारण देशभरि हजारौँ वन क्षेत्र नष्ट भएको छ भने आगलागीले सयौँ परिवार घरबिहीन बनेका छन् । आगो निभाउने क्रममा जलेर दर्जनौँ मानिसको ज्यान गएको छ भने सयौँ घाइते बनेका छन् ।

गृह मन्त्रालयका अनुसार पछिल्लो साता मात्रै देशभरि १८८ स्थानमा आगलागी भएको छ । त्यसमध्ये १४४ वटा वनमा आगलागी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?