कोरोना जाँच्नको लागि स्वाब दिनुभएको छ ? मन्त्रालयको अनुरोध पढ्नुहोस्

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण भए /नभएको जाँच्नको लागि स्वाब दिएर अनुशासित तवरले क्वारेन्टाईनमा नबसेको प्रवृतितर्फ ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणका लागि स्वाब दिएर घुम्न निस्कने, नियमित काममा जाने, दैनिकी पुरानै तरीकाले सञ्चालन गर्ने काम नगर्न अनुरोध गरेको छ ।

आज भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणका लागि स्वाब दिएर बाहिर घुम्न निस्किँदा कोरोना भाइरसको संक्रमण बढ्ने भएकोले अनिवार्य क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले भने,  “स्वाब दिएर बाहिर घुम्न निस्कँदा तपाईमा संक्रमण रहेछ भने धेरै जनामा सर्न सक्छ । तिनले फेरि अरुलाई सार्छन् । यदी संक्रमण रहेनछ भनेपनि स्वाब दिएको छु भनेर तपाईले स्वास्थ्य मापदण्ड अपनाउनुभएन भने पनि अरुबाट तपाईलाई सर्न सक्छ । त्यसैले स्वाब दिएकाहरु अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्छ ।”

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण ह्वात्तै बढेको छ ।

बितेको २४ घण्टामा मात्रै काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार २७९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ६८० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यो कुल संक्रमितको ७२।५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १५ हजार ८७७ जना र संस्थागत आईसोलेसनमा ११ हजार १७६ जना छन् । तिमध्ये ३१८ जना संक्रमितको आईसियु र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७०३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो ।

हिजो (बिहीवार) नेपालमा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ६७५ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?