काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवास मा आज आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनी बढ्दै गएको
बेरुजुले सार्वजनिक निकायहरूको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताएका छन् । उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू थप जिम्मेवार र जवाफदेही बन्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपतिले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिप्रतिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
उनले वार्षिक प्रतिवेदनमा उठाइएका विषयहरूले सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई थप जिम्मेवार बन्न प्रेरित गर्ने उल्लेख गरे ।
साथै, सरकारी खर्चको बढ्दो बेरुजु नियन्त्रण गर्दै पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासन कायम राख्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आगामी दिनमा संस्थागत सक्षमता, पेशागत दक्षता अभिवृद्धि र आन्तरिक सुशासन सुदृढीकरणमा कार्यालय अझ सक्रिय हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया